मधेशीको माग अझै पूरा नभएको यादवको भनाई, फोरमले राजधानी केन्द्रित सङ्घर्ष गर्ने
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक सङ्घीय समाजवादी फोरमले विरोधको स्वरुप परितर्वन गर्दै राजधानी केन्द्रित कार्यक्रम गर्ने भएको छ । यही माघ ९ गते व्यवस्थापिका–संसद्बाट पारित संविधानको पहिलो संशोधन विधेयकले मोर्चाले राखेका ११ बुँदेअन्तर्गत आदिवासी जनजाति, थारुलगायतले राखेका माग सम्बोधन नगरेको भन्दै फोरमले आन्दोलनरत पक्षसँग गठबन्धन गरी सङ्घर्ष गर्ने भएको हो । यद्यपि उसले सङ्घर्षसँगै वार्ता प्रक्रियालाई पनि निरन्तरता दिने जनाएको छ । फोरमको काठमाडौँमा सम्पन्न दुई दिने केन्द्रीय समिति बैठकको निर्णय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै हाल जारी रहेको भन्सार नाका तथा राजमार्ग केन्द्रित आन्दोलनका कार्यक्रम यथावत राख्ने पनि निर्णय गरेको छ । बैठकले पहिचानवादी आन्दोलनकारी दल तथा शक्तिबीच एकता र सहकार्य आवश्यक भएको ठहर गर्दै सबै शक्तिलाई बृहत् सङ्घीय गठबन्धनमा आबद्ध हुन आग्रह समेत गरेको छ । फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधनले आन्दोलनकारीका माग नसमेटेको र समानुपातिक समावेशीलाई झन् विकृत तुल्याएको भन्दै जारी आन्दोलन यथावत राखी प्रादेशिक सङ्घर्ष समितिसँग गठबन्धन गरेर अघि बढ्ने बताउनुभयो ।
बैठकले मधेस आन्दोलनका क्रममा अहिलेसम्म तराई÷मधेस र थरुहटमा मृत्यु भएलाई सहिद घोषणा गर्न, पक्राउ परेकाको रिहा तथा लगाइएका मुद्दा फिर्ता गरी आन्दोलनका क्रममा भएको मानवअधिकार उल्लङ्घनको छानबिनका लागि न्यायिक आयोग गठन गर्न माग गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षमा सम्पन्न बैठकले पार्टीको राजनीतिक, सङ्गठनात्मक तथा आर्थिक प्रतिवेदन पारित गर्दै विभिन्न समिति तथा विभाग गठन र जिम्मेवारी विभाजन गरेको सो पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
थारुले भने, संविधान संशोधन अमान्य, आरक्षणको माग
थारु कल्याणकारिणी सभाले शनिबार भएको नेपालको संविधान पहिलो संशोधनले थारु समुदायको माग सम्बोधन नभएको जनाएको छ । सभाले विज्ञप्तिमार्फत आदिवासी थारु समुदाय आजसम्म राज्यको कुनै पनि अङ्ग, निकाय र तहमा सहभागिता हुनबाट वञ्चित रहेको जनाएको छ । “राज्यको मूल प्रवाहमा समानुपातिक प्रतिनिधित्व हेतु थारुको जनसङ्ख्याको अनुपात र छुट्टै पहिचान खुल्ने गरी आरक्षण निर्धारण गर्ने प्रमुख हाम्रो माग हो तर माघ ९ गते भएको संशोधनले थारु र थरुहट आन्दोलनको मूल मर्म र मागलाई सम्बोधन गरेको छैन” सभाका अध्यक्ष धनीराम चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सभाले थरुहट÷थारुवानको बस्ती सहितको स्वायत्त थरुहट प्रदेशको सुनिश्चित्तताका लागि थरुहट आन्दोलन जारी रहने जनाएको छ ।