संविधान संशोधनले भित्रभित्रै मधेशी मोर्चा खुशी भएको प्रचण्डको तर्क
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले कूटनीतिक तवरमा भइरहेको प्रयासले अब केही दिनभित्रै नाकाबन्दी खुल्ने सङ्केत मिलेको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को नियमावलीमा सहमति जुटाउन सभामुख ओनसरी घर्तीले बोलाउनुभएको शीर्ष नेता, प्रमुख सचेतक र सचेतकको परामर्श बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष दाहालले भन्नुभयो– “हाम्रो छिमेकीसँग पनि जे कुराकानी कूटनीतिक क्षेत्रमा भइरहेको छ । त्यसले पनि के प्रष्ट सङ्केत गरिरहेको छ भने नाका खुल्छ भन्ने नै छ । हेरौँ, एक दुई दिनमा थाहा हुन्छ ।” संविधान संशोधन धेरै मेहनत गरेर परिमार्जनसहित भएको छ, यसले नाका खोल्छ भन्ने आफूहरूको विश्वास हो भन्दै उहाँले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले पनि संविधान संशोधनमा सहमतिपछि मोर्चाका नेताले आफूहरूलाई धन्यवाद नै दिएको कुरा स्मरण गराउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो– “भित्रबाट उहाँहरू खुसी नै हुनु भएको छ भन्ने बुझ्छु । त्यसकारण एक दुई दिनभित्र उहाँहरूले नाका खोल्नु हुनेछ ।”