१६ बुँदे समझदारीले माओवादीको एकता हुन नदिएको वैद्यको आरोप
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले आफ्नो पार्टी क्रान्तिकारीसँगको एकतामा प्रतिबद्ध रहेको बताउनुभएको छ । पार्टी कार्यालयमा पुगेका विभिन्न क्षेत्रका अगुवाले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले नेपाली क्रान्ति पूरा गर्न पनि क्रान्तिकारीको एकता आवश्यक रहेको र त्यसका लागि पहल निरन्तर भइरहेको बताउनुभयो । “पार्टी एकताको लागि पहल गर्न छाड्दैनाँै” उहाँले भन्नुभयो, “यसअघि एकता प्रायः सुनिश्चित भएका बेला १६ बुँदे सहमतिले विकसित प्रक्रिया समाप्त गरायो ।” पार्टी एकताका लागि सात वटा आग्रह गरिएको पत्र बुझाउँदै पत्रकार दीपेन्द्र रोकायाले विगतमा पार्टीका नेता तथा कार्यकर्ताले गरेको तपस्या र बलिदानीले स्थापित मान्यता तथा क्रान्तिकारी उपलब्धिको रक्षा गर्न माओवादी पार्टीले नयाँ परिस्थितिमा नयाँ एकता कायम गर्नुपर्नेमा जोड दिनुभयो । प्रा डा गोपाल शिवाकोटीले नेपालमा क्रान्तिकारीको फुटपछि निर्माण भएको राजनीतिक घटना क्रमपछि ७० प्रतिशत माओवादी समर्थकलाई ३० प्रतिशतले शासन गरेकामा चिन्ता व्यक्त गर्नुभयो । नेत्री शान्ता श्रेष्ठले माओवादी दर्शन, राजनीतिक कार्यक्रम, कार्यकर्ताको मनोभावना, जनताको चाहना र देशको परिस्थितिका कारण माओवादी एकता आवश्यक देखिएको बताउनुभयो । यसअघि ती अगुवाहरूले क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापा र नेकपा (माओवादी)का संयोजक मातृका यादवसँग भेटघाट गरिसक्नुभएको छ ।