भारत भ्रमणको मिति तत्कालै तय हुन नसक्ने प्रधानमन्त्री ओलीको भनाई


oliप्रधानमन्त्री केपी शर्मा ओलीले असहज स्थिति सहज नभएसम्म आफू छिमेकी मुलुक भारत भ्रमणमा जानु वाञ्छनीय नभएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न दैनिक पत्रिकाका सम्पादक र वरिष्ठ पत्रकारसँगको छलफलमा प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे सोधिएको प्रश्नमा अघोषित नाकाबन्दी र आपूर्ति व्यवस्थापनको असहजता अन्त्य भएपछि मात्रै भ्रमणमा जाने सङ्केत गर्नुभएको हो । उहाँले नेपाली काँग्रेस पनि सरकारमा आउने विश्वास व्यक्त गर्नुभयो । ‘‘संविधान बनाउँदा सहकार्य गरेको काँग्रेस यसको कार्यान्वयन गर्ने बेला सरकार बाहिर हुन हुँदैनथ्यो भन्दै अब काँग्रेस बाहिर हुँदैन सरकारमा आउँछ’’ प्रधानमन्त्रीले भन्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल कसैको पनि बैरी नभएको उल्लेख गर्दै घोषणा नगरी भएको नाकाबन्दी घोषणा नगरी नै खुल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘मित्रभावमाथि म विश्वास गर्छु, मैले यसैको आधारमा नाकाबन्दी खुल्छ भनेको हुँ, यो नाकाबन्दी एक÷दुई दिनमै खुल्ने अपेक्षा गरेको छु ।’’ आपूर्ति व्यवस्थापनको असहजता आफू सरकारमा आउनु अघिदेखिकै समस्या भएको भन्दै उहाँले यस्तो समयमा पनि मुलुकलाई स्वाधीन र विकासशील बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विकास निर्माणका योजना र कामबारे मैले बोल्दा हावादारी भनिन्छ, के यस्तो बेलामा सरकार पासा खेलेर बस्ने ?’’ मुलुकमा पृथकतावादी चिन्तनको विकास भएको भन्दै उहाँले लोकतान्त्रिक मान्यताअनुसार मुलुकलाई अघि बढाउन आफू कटिबद्ध भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘लोकतन्त्रमा हिंसात्मक कार्य स्वीकार्य हुँदैन, अब विकासमा लाग्नुपर्छ, हामीले समय खेर फाल्ने स्थिति छैन ।’’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?