अष्ट्रेलियाको जनसम्पर्क समितिमा पत्रयुद्ध, जोशी र कोइराला दुईतिर
नेपाली काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति अष्ट्रेलियामा यतिबेला फेरि विवाद सतहमा आएको छ । केही महिना अघि नेपाली काँग्रेसका नेता शेखर कोइराला केन्द्रीय प्रतिनिधि बनेर अष्ट्रेलिया आएपनि विवाद समाधान गर्न नसकेपछि लिखित रुपमा सबै सभापतिका आकांक्षीहरुलाई आफुले गर्ने निर्णय मान्य हुने लिखित गराएर फर्किएका कोइरालाले लामो समयसम्म कुनै निर्णय गर्न सकेनन् । महाधिवेशन सरेपछि झन् यो विषय त्यतिकै सेलाएको थियो । अधिवेशनको उद्घाटन भयो । नेताहरुले भाषण गरे तर बन्द सत्रमा के भयो सार्वजनिक समेत नगरी नेताहरु लाखापाखा लागेका थिए । यसै मेसोमा गत माघ ६ गतेको मितिमा नेपाली काँग्रेसको प्रवास हेर्ने जिम्मेवारी पाएका अर्जुन जोशीले अष्ट्रेलियामा अधिवेशन गर्ने भन्दै मकाउका अध्यक्षलाई जिम्मेवारी दिइएको व्यहोराको पत्र सार्वजनिक भयो । यसको ५ दिनपछि ११ गते फेरि अर्को पत्र सार्वजनिक गर्दै कोइरालाले सन्तोष सिटौलालाई नै अध्यक्ष तोकिदिएका छन् । जनसम्पर्क समिति मकाउका अध्यक्ष सुदर्शन थापा केही समयपछि यहाँ अधिवेशन गर्नका लागि आउने बताइए पनि सन्तोष सिटौला अध्यक्ष तोकिसकेको अवस्थामा भाँडभैलो हुने निश्चित देखिएको छ । अधिवेशन प्रतिनिधिहरुको छनोटको विषयमा काँग्रेसीजन असन्तुष्ट छन् भने डा. शेखर कोइरालालो तोकको कार्यसमितिमा सभापतिमा सन्तोष सिटौला, उपसभापतिमा छिरिंग तेन्जी लामा, सचिवमा धिरोज मल्ल, सहसचिवमा शितल गिरी, कोषाध्यक्षमा विश्वेश्वरा खतिवडा, सदस्यमा दिनेशराज जोशी, कञ्चन पोखरेल, सुरेश गुरुंग, किरण बराल, सोम गुरुंग, भीम लुईटेल, विश्वामित्र खनाल, नेत्र पौडेल, ईन्द्र न्यौपाने, युवराज ओडारी, दिलिप पोखरेल, निल थपलिया रहेका छन् । यसैगरी सल्लाहकारमा प्रेम सापकोटा, दुर्गा आचार्य, देवेन्द्र बस्नेत, गणेश केसी, राजन सिटौला र डा. ज्ञानेन्द्र रेग्मी रहेका छन् । केन्द्रदेखि अष्ट्रेलियासम्म यस विषयमा दुई प्यानल बनेपछि समस्याको समाधान कसरी हुन्छ यो भने प्रतिक्षा गर्नैपर्ने भएको छ ।