ट्रान्सपरेन्सी ईन्टरनेशनलको भ्रष्टाचार हुने देशको सूचिमा नेपाल अझै अगाडि
ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले सन् २०१५ मा धेरै राष्ट्रमा भ्रष्टाचार घटेको भए पनि नेपाललगायत केही मुलुकमा भ्रष्टाचार बढेको जनाएको छ । सो संस्थाले विभिन्न १६८ मुलुकका सार्वजनिक क्षेत्रमा भएका भ्रष्टाचारबारे अवधारणा मापन गरेकामा नेपाल १३०औँ स्थानमा परेको छ । कम भ्रष्टाचार भएका देशमा प्रेस स्वतन्त्रता, बजेट पारदर्शीता, शक्तिमा रहेकाको सदाचार, निष्पक्ष न्यायालय तथा भ्रष्टाचार व्याप्त भएका मुलुकमा द्वन्द्व तथा युद्ध, दयनीय शासन प्रणाली, कमजोर सार्वजनिक निकाय र नियन्त्रित प्रेस स्वतन्त्रताजस्ता पक्षलाई आधार बनाइएको छ । विगत एक वर्षभित्र विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र ग्लोबल इनसाइट समेत गरी पाँच संस्थाद्वारा गरिएको सर्वेक्षणका आधारमा नेपालले १०० मा २७ अङ्क प्राप्त गरेको छ । नेपालले सन् २०१४ को तुलनामा सन् २०१५ मा दुई अङ्क कम पाएको हो । यहाँ आयोजित पत्रकार सम्मेलनमा टिआई नेपालका अध्यक्ष भरतबहादुर थापाले भ्रष्टाचार राष्ट्र र राष्ट्रिय स्वाधीनतालाई नकारात्मक प्रभाव पार्ने विषय भएकाले यसको न्यूनीकरणका लागि कार्यपालिका, न्यायापालिका र व्यवस्थापिका–संसद्को समन्वय र प्रतिबद्धताको खाँचो औँल्याउनुभयो । सो संस्थाले सन् १९९५ देखि प्रत्येक वर्ष यस किसिमको प्रतिवेदन सार्वजनिक गर्दै आएको भए पनि नेपाललाई सन् २००४ देखि समावेश गरिएको हो ।