मेलबर्नमा पढेर ढकालले नेपालमा सुझाए भूकम्प प्रतिरोधी मौलिक घरको ढाँचा
जापानको इहमि विश्वविद्यालयबाट ‘विपद् व्यवस्थापन’मा विद्यावारिधि गरी अष्ट्रेलियाको मेलर्वन विश्वविद्यालयमा भूकम्प प्रतिरोधी घरसम्बन्धी अनुसन्धान गरिरहेका शंकर ढकाल यतिबेला नेपालमा छन् । उनी नेपालमा कसरी सस्तो लागतमा भूकम्प प्रतिरोधी घर बनाउन सकिन्छ भनेर अनुसन्धान गरिरहेका थिए । अष्ट्रेलियाको अनुभवले वउनलाई निकै सहयोग पुर्याएको छ । उनले भने, मेलबर्नमा रहेर मैले विभिन्न प्रोजेक्टमा काम गर्ने अवसर पनि पाएको थिएँ । यो पनि अध्ययनकै एउटा अंश थियो । त्यसले पनि भूकम्प प्रतिरोधी नेपाल सुहाउँदो डिजाईन तयार गर्न मलाई सहयोग पुगेको छ । उनले यतिबेला आफु मात्र नेपालमा पुगेका छैनन् काभ्रेपलान्चोकको देउपुरलाई नमुना गाउँका रूपमा विकास मेलबर्नमै सहप्राध्यापन गर्ने मित्र हिङ हो तेस्याङ लिले पनि साथ दिएका छन् । लीले हङकङमा सन् २००७ मा पत्ता लगाएको रबर तथा माटोको मिश्रण र नेपालमा प्रारम्भिक अवस्थामा विकास भइरहेको इन्टरलकिङ प्रविधिलाई नेपाली मौलिकतामा अगाडि बढाउने सोच अगाडि सारेका छन् । विभिन्न सवारी साधनमा प्रयोग हुने टायर र रातो माटोको धुलोलाई घर तथा आवासको जगमा राख्दा त्यसले भूकम्प प्रतिरोधी क्षमताको विकास गर्न सकिन्छ भन्ने तथ्य नै नयाँ भूकम्प प्रतिरोधी घरको विशेषता हो ।
‘गोरखा भूकम्प’को नौ महिनापछि सरकारले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठन गरेर पुनःनिर्माण तथा नवनिर्माणको काम अगाडि बढाएको छ । सरकारले विभिन्न प्रकारका घरका नमुनासमेत सार्वजनिक गरिरहेको छ तर पुनःनिर्माणको काम प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको बेला नागरिक तहबाट पनि सरकारलाई सहयोग गर्ने ढङ्गले नै काम हुनु वास्तवमै सराहनीय काम हो । युएनडिपी, सहरी विकास मन्त्रालय र इन्जिनियरिङ एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘भूकम्प प्रतिरोधी ग्रामीण संरचना कसरी बनाउन सकिन्छ’ विषयको प्रदर्शनीमा डा ढकालको समूहले घरको नमुना तथा प्रविधिलाई धेरैले मन पराएका थिए भने ‘बेस्ट पब्लिक च्वाइस अवार्ड’ पनि पाएको थियो । नेपाली मौलिक घरलाई सामान्य रूपमा मात्रै सुधार गर्दा पनि भूकम्प प्रतिरोधी बनाउन सकिने डा ढकाल बताउँछन् । “रबर र माटोलाई जगमा राख्ने र सोही मिश्रणमाथि घर तथा आवासको जग राख्नुपर्छ, परीक्षणबाट के देखिएको छ भने रबर र रातो माटोको मिश्रणले भूकम्पको धक्कालाई ६० प्रतिशतभन्दा कम गर्न सकिन्छ”– उनको भनाई छ । उनले भित्र्याउन लागेको प्रविधिमा माटो र बालुवा सिमेन्टको इँट्टाको गारो लगाउँदा इन्टरलकिङ गरिनेछ । अथवा हाल बजारमा पाइनेभन्दा अलि ठूलो आकारको इँट्टा बनाउने प्रविधि पनि डा ढकालले प्रयोग गर्न लाग्नुभएको छ । रातो माटो, बालुवा र थोरै सिमेन्टको मिश्रणबाट इँट्टा बनाउने र त्यसमा पनि काठ वा सुधारिएको बाँस प्रयोग गरेर स्थानीय प्रविधिलाई थप परिस्कृत गर्न सकिने उनको भनाइ छ ।
भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलाई समेत आफ्नो प्रविधि र सीपका बारेमा जानकारी गराइसकेको बताउने ढकाल नेपाली मौलिकता र नेपाली प्रविधिलाई संरक्षण गर्ने, कम लागतमा नै आगामी ६० वर्षसम्म टिक्ने घर तथा आवास निर्माण गर्न सकिने उल्लेख गर्छन् । यो पहल यतिबेला निजी तवरमै भएको छ । यद्यपि काभ्रेको देउपुर, रञ्जनाकोट, दोलखाको सुन्द्रावती, गोरखाको बारपाक, धादिङको लापामा आफ्नो प्रविधि र योजनालाई प्रारम्भिक रूपमा लागू गर्नका लागि सरकारी प्रयास पनि जुट्ने उनको आशा छ । कुल रु दुई लाख लागतमा आफूले भित्र्याएको प्रविधि प्रयोग गरिएको ‘डेमो’ घर पुल्चोक इन्ज्निियरिङ क्याम्पसमा समेत निर्माण गरिने र जनचेतना फैलाउने उनको तयारी छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)ले पनि आफ्नो अभियानमा सहयोग गर्ने उनको आशा छ ।