पोखरामा साहित्य सम्मेलन, बहसमा नयाँ शक्तिको उदय


z’qmaf/b]lv kf]v/fdf ;’? ePsf] g]kfn ln6/]r/ km]l:6jnsf] kfFrf}+ ;+:s/0fsf cj;/df cfof]lht sfo{qmddf ;xefuL gofF zlQmsf ;+of]hs afa’/fd e§/fO{, g]skf Pdfn]sf ;lrj of]u]z e§/fO{ / kqsf/ ;’wL/ zdf{ . tl:a/M jf;’b]j kf}8]n, kf]v/f, /f;;

नेपाल लिट्रेचर फेस्टिबल(साहित्य महोत्सव)को पाँचौँ संस्करण पर्यटकीय नगरी पोखरास्थित नेपाल पर्यटन बोर्डको कार्यालय परिसर, पार्दीमासुरु भएको छ । बुक वर्म फाउन्डेसनको आयोजना एवम् ¥यान्डम रिडर्स सोसाइटीको सहआयोजनामा आयोजित महोत्सवको उद्घाटन साहित्यकार कर्णेल जेपी क्रसले गर्दै महोत्सवले यहाँको कला संस्कृतिलाई थप उजागर गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । साहित्यकार तीर्थ श्रेष्ठले फेवातालको किनारमा सञ्चालित महोत्सवले यहाँको पर्यटकीय विकासलाई पनि महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । फाउन्डेसनका निर्देशक अजित बरालले विसं २०६८ देखि सुरु भएको महोत्सव काठमाडौँ हुँदै पहिलो पटक पोखरालाई सांस्कृतिक रुपले पनि सुन्दर बनाउन गर्न लागिएको जानकारी दिनुभयो । उक्त अवसरमा व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीद्वारा लिखित ‘समृद्ध नेपाल’ शीर्षकको पुस्तक विमोचन गरिएको थियो । नेपालको विकास र समृद्धिका सन्दर्भमा लेखिएको उक्त पुस्तक फाइनप्रिन्ट प्रकाशन गृहले प्रकाशनमा ल्याएको हो । पुस्तकमा नेता अधिकारीले आफ्नो विद्यार्थी कालका अनुभवका साथै व्यवस्थापिका–संसद्मा लेखा समिति र विकास समितिमा बसेर गरेका अनुभवलाई उल्लेख गर्नुभएको छ । पुस्तकको समीक्षा गर्दै झलक सुवेदी, सूर्यराज आचार्य र स्वर्णिम वाग्लेले कृतिमा नेपालको विकास कहाँ र कसरी गर्न सकिन्छ भन्ने लगायतका सन्दर्भमा महत्वपूर्ण विचार समेटिएको धारणा राख्नुभयो । तीन दिनसम्म चल्ने महोत्सवमा साहित्यका विविध आयामका साथै दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक विषयमा छलफल र बहस गरिने छ ।
नयाँ शक्ति जन्मनु सामान्य प्रक्रिया
नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले नेपालको समृद्धि र विकासका लागि विज्ञ र जनतामा गएर भिज्न सक्ने नेतृत्व आवश्यक भएको बताउनुभएको छ । महोत्सवका अवसरमा आयोजित ‘कस्तो नयाँ शक्ति’ विषयको बहस कार्यक्रममा उहाँले नेपालले विभिन्न चरणमा क्रान्ति पार गर्दै अघि बढेका कारण अब देशलाई आर्थिक समृद्धि र विकासको बाटामा अघि बढाउनुपर्ने औँल्याउनुभयो । उहाँले भन्नुभयो– “देशको आर्थिक विकास र समृद्धिका लागि विज्ञता, दृष्टिकोण र जनतामा भिज्न सक्ने नयाँ शक्ति आवश्यक छ ।” क्रान्तिको उपलब्धिको उपयोग गर्दै देशको अबको कार्यसूची आर्थिक विकास र समृद्धि हुनुपर्ने उहाँको भनाइ छ । नेपालको विकासका लागि नेपालकै सन्दर्भको आफ्नै ढाँचा आवश्यक भएको र आगामी दिनमा देशमा आन्तरिक मानसिक शान्ति पनि आवश्यक रहेको उहाँले उल्लेख गनुभयो । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेपालका दलले विभिन्न वर्ग र समुदायको समुन्नतिका लागि सङ्घर्ष गरेको बताउँदै राष्ट्रको समृद्धि र विकासका लागि अझै यिनै राजनीतिक दलबाट सम्भव हुने धारणा राख्नुभयो । पार्टीभित्र सही ढङ्गले काम नभए नेतृत्व परिवर्तन गर्न सक्ने वैधानिक बाटो हुने बताउँदै उहाँले नेतृत्व असक्षम छ भने त्यसलाई परिवर्तन गर्न सकिने पर्याप्त सम्भावना रहन्छ भन्नुभयो । पत्रकार सुधीर शर्माले समयको मागसँगै नयाँ राजनीतिक शक्ति जन्मन सक्ने बताउँदै नयाँ शक्ति जन्मनु सामान्य प्रक्रिया भएको टिप्पणी गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?