एनआरएनको ऐतिहासिक काम, ५ सयभन्दा बढी अभिभावक एकै ठाउँमा रमाए


एनआरएन अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिको आयोजनामा सिड्नीमा एकै पटक ५ सय भन्दा बढी अभिभावकहरुको जमघट आयोजना गरिएको छ । कटाई नेशनल पार्क र वाईजमेन फेरी घुम्नेगरी शनिबार एनआरएन न्यूसाउथवेल्सले आयोजना गरेको कार्यक्रममा उपस्थित भएका अभिभावकहरुले पहिलो पटक आफूजस्तै र आफ्नै उमेर समूहका साथी दौंतरी यति ठूलो संख्यामा भेट्न पाए । गीत, नाच, भजन मात्र होइन क्यारिकेचर र रमाइला चुट्किला सुनेर समेत ताली बजाए । एनआरएन संरक्षक ईन्द्रा वनले यस किसिमको बृहद अभिभावक भेटघाट आयोजना अष्ट्रेलियामा मात्र नभएर विश्वमै पहिलो पटक भएको भन्दै अन्य देशहरुले समेत निरन्तरता दिनुपर्ने बताइन् । NRN NSWउनले भनिन्, “एनआरएन न्यूसाउथवेल्सले यो कामको सुरुवात गरेर ऐतिहासिक काम गरेको छ । अष्ट्रेलियाबाट नै नेपाल फेष्टिभलको सुरुवात भयो जसलाई विश्वका एनआरएनले अहिले पछ्याइरहेका छन् । अब अभिभावकहरुको यस किसिमको बृहद जमघटको क्रम अन्यत्र पनि हुनुपर्छ ।”

वास्तवमा अष्ट्रेलियामा अभिभावकहरु आफ्ना सन्तानको प्रगति हेर्न उनीहरुको पढाई सकिएपछिको दिक्षान्तमा आउँछन् अथवा छोराछोरीले सन्तान जन्माएपछि उनीहरुको हेरचाह र स्याहार गर्न आउँछन् । यसरी आउँदा यहाँको जीवन शैली अनुसार उनीहरु भिज्न धेरै समय लाग्छ र नेपालकै परिवेश, नेपालीहरुसँग नै भेट्न, मिल्न र कुरा गर्न खोज्छन् तर यो सधै जुर्दैन । अझ यति धेरै संख्यामा नेपालबाट आएका अभिभावकहरु एकै ठाउँमा भेट्नु त सपना जस्तै हुन्थ्यो । NRN NSW1यसैकुरालाई मध्यनजर राखेर एनआरएनले अभिभावकहरुको भ्रमण कार्यक्रम आयोजना गरेको एनआरएन न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेल बताउँछन् । पोखरेलले सकेसम्म सबैलाई समेट्ने कोसिस गरिएपनि अझै केही अभिभावकहरु छुट्नुभएको र उहाँहरुको लागि फेरि अरु कार्यक्रम ल्याउने बताए । “हामीले यतिधेरै सहभागिताको अपेक्षा गरेका थिएनौं । तर, जब उहाँहरुको रेस्पोन्स आयो यसले हामीलाई निकै उत्साही बनाएको छ । हामीले हाम्रा अभिभावकहरुको आशिर्वाद पाएका छौं जस्तो लागेको छ । यसका साथै स्वास्थ्य परीक्षण समेत गर्ने व्यवस्था गरेका थियौं जसमा ४ सयभन्दा बढी लाभान्वित हुनुभयो ।”

चितवनका ६५ वर्षीय कृष्णचन्द्र पाण्डित भन्छन्, “यस्तो कार्यक्रम पटक पटक गर्न सकेमा अझ बढी लाभान्वित हुनेछन् । धेरै धेरै धन्यवाद, यो आयोजनाको लागि ।” ललितपुर लगनखेलबाट छोराछोरी भेट्न आएकी गीता गोर्खाली पनि निकै खुशी लागेको र नेपालमै नभेटिएका साथीलाई पनि यहाँ भेट्न पाउँदा मनै प्रफुल्ल बनेको बताउँछिन् । 0U2A0052काठमाडौं बानेश्वरकी यशोदा पोखरेल पनि आफु नेपालमै भएको जस्तो अनुभूति भएको बताउँछिन् । कार्यक्रममा सिड्नीका चर्चित हाँस्यव्यंग्य कलाकार भूपेन्द्र चुडालले आफ्ना प्रस्तुतिबाट मनोरञ्जन दिएका थिए ।

उक्त अवसरमा गरिएको औपचारिक कार्यक्रममा एनआरएन न्यूसाउथवेल्सका सचिव भूपाल सिटौलाले स्वागत गरेका थिए भने प्रमुख अतिथि एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल थिए । कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देलले अभिभावकहरुको चाहना बमोजिम एनआरएन न्यूसाउथवेल्सले गरेको कार्यक्रमबाट उत्साही बनेको बताए । उनले भने, “आजको कार्यक्रममा अभिभावकहरुले आशिर्वाद दिनुभएको छ । यो आशिष एनआरएनलाई लागोस् । एनआरएन भनेको के हो ? यसले के के काम गर्छ भन्ने बारेमा समेत हाम्रा अभिभावकहरुले जान्ने अवसर पाउनुभयो । यो महत्वपूर्ण अवसर हो ।” यस किसिमका कार्यक्रम अष्ट्रेलियाका अन्य राज्यहरुमा पनि गर्नुपर्ने सिग्देलको भनाई थियो । NSW 1अतिथिको आसनबाट एनआरएन ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्साल र एनआरएन संरक्षक ईन्द्रा वनले सफल आयोजनाका लागि एनआरएन न्यूसाउथवेल्सलाई धन्यवाद दिएका थिए । यस अभिभावक जमघट आयोजक कमिटीका संयोजक कृष्ण निरौलाले उत्साहपूर्ण सहभागिताले आफूहरुलाई हौसला मिलेको बताएका थिए । सानातिना कमजोरी भए तिनलाई आगामी दिनमा सुधार्दै जाने भन्दै निरौलाले अभिभावकहरुको मुहारमा हाँसो देख्न आफूहरुले चाहेको बताए । यस्तै अभिभावकहरुको तर्फबाट बोल्दै शशी राईले कोग्रा, रकडेल, एसफिल्ड, क्याम्पसी लगायतका ठाउँमा पार्कमा सानो सानो संख्यामा जमघट हुने गरेको भएपनि बृहद रुपमा अभिभावकहरुलाई समेट्ने काम भएकोमा एनआरएन धन्यवादको पात्र बनेको बताए । उनले भने, “यसलाई निरन्तरता दिनुपर्छ ।” कार्यक्रमको सभापतित्व एनआरएन न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेलले गरेका थिए । यस जमघटमा अभिभावकहरुले मट्का फोड, म्युजिकल चेयर लगायतका खेल पनि खेलेका थिए । 0U2A0031कार्यक्रमलाई सफल बनाउन एनआरएनका आईसीसी सदस्यहरु, एनआरएन न्यूसाउथवेल्सका पदाधिकारी, नारी निकुञ्जका पदाधिकारीहरुले स्वयंसेवा गरेका थिए । कटाई नेशनल पार्कमा भएको जमघट पश्चात अभिभावकहरुले वाईजमेन फेरीको पनि भ्रमण गरेका थिए । विहान ८ बजे घरबाट निस्किएका उनीहरु साँझ ५ बजे फर्किएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?