डम्फु साँझमा यसरी रम्यो मेलबर्न
तामांग सोसाईटी अफ भिक्टोरियाको आयोजनामा अष्ट्रेलियाको मेलबर्नमा आइतबार डम्फु साँझ सम्पन्न भएको छ । तामांग समूदायको नयाँ वर्षको अवसरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई संस्थाका अध्यक्ष बम योञ्जनले स्वागत गर्नुभएको थियो । मनोरञ्जनात्मक कार्यक्रमको सुरुवातमा अतिथिहरुले उपस्थित सबैलाई नयाँ वर्षको अवसरमा शुभकामना प्रदान गरेका थिए । यसपछि स्थानीय कलाकारहरुले विभिन्न गीत संगीतमा आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा बोल्दै भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले देशमा राष्ट्रिय मान्यता पाइसकेका चाडहरुलाई कुनै जाति समूदायले मात्रै मनाउनेभन्दा सबै नेपालीले मनाउनुपर्ने बताउनुभयो । विदेशी भूमिमा यस किसिमको चाडबाडलाई सामूहिक रुपमा मनाउँदा समूदायमा एकताको भावना अभिबृद्धि हुने उहाँको भनाई थियो । तामांग समाज भिक्टोरियाका अध्यक्ष बम योञ्जनले नेपाली समूदाय भिक्टोरियाको बहुसांस्कृतिक समाजको महत्वपूर्ण हिस्सा भइसकेको भन्दै हरेक वर्ष आयोजना गरिने यस्ता कार्यक्रममा स्थानीय अन्य समूदायका व्यक्तिहरु, नयाँ पुस्ताका नेपालीलाई पनि समावेश गर्दै लैजाने संस्थाको नीति रहेको बताउनुभएको थियो । कार्यक्रममा नेपालका चर्चित सेलो गायकहरु प्रेम लोप्चन र ईन्दिरा गोलेले आप्mना प्रस्तुतिमा दर्शकहरुलाई नाच्न बाध्य बनाएका थिए । करिब ३ सय दर्शक उपस्थित कार्यक्रमको सुरुवातमा बौद्ध परम्परा अनुसार पूजा गरिएको थियो भने विभिन्न परम्परागत खानाका स्टलहरु पनि राखिएको थियो । मौलिक भेषभूषामा सजिएर तामांग समूदायका सदस्यहरु कार्यक्रममा सहभागी भएका थिए । तस्वीर: द नेपाली टाईम्स मेलबर्न