विद्यार्थी कल्याणकारी कोषका लागि रकम जुटाउन अष्ट्रेलियाका सबै शहरमा वाक फर वेलफेयर हुँदै


0U2A0102 copy अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको पहिलो गन्तव्य हो । यहाँको अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालय र शिक्षा प्रणालीले धेरैलाई आकर्षित गरेको छ । यति मात्र होइन यहाँको सामाजिक परिवेशले पनि धेरैलाई यस देशलाई शैक्षिक गन्तव्य बनाउने भरपर्दो कारण दिएको छ । तर, आकर्षण मात्र छैन अष्ट्रेलियाको शिक्षामा केही समस्याहरु पनि छन् जसका कारण बेलाबखत नेपाली विद्यार्थीहरु अप्ठेरोमा पर्ने गरेको न्यूजहरु आउँछन् । अर्कोतर्फ, सामाजिक भिन्नता, फरक वातावरणका कारण पनि अष्ट्रेलियामा पढ्नका लागि आएका विद्यार्थीहरुले विभिन्न खाले समस्या भोग्नुपर्ने हुन्छ । यस्तो समस्याको बेला उनीहरुका कुरा सुनिदिने, सहयोग गरिदिने एकमात्र निकाय यहाँस्थित दूतावास र नेपाली संघसंस्था नै हुन् । संघसंस्थामा पनि सबै प्रवासीको साझा मञ्च मानिने गैरआवासीय नेपाली संघनै विद्यार्थीहरुको निम्ति भरोसाको केन्द्र हो । तर, गतवर्षदेखि विद्यार्थीले एनआरएनको सदस्यता नपाउने नीति बनेपछि यो कडी तोडिएको थियो । यही तोडिएको कडीलाई जोड्नका लागि एनआरएन अष्ट्रेलियाले विद्यार्थी कल्याणकारी कोषको अवधारणा ल्याएको छ । यसअघि नै सामाजिक कल्याणकारी कोष सञ्चालन गरेर विभिन्न समयमा मर्दापर्दा सहयोग गर्दै आएको एनआरएनले विद्यार्थीहरुका लागि छुट्टै एक लाख डलरको कोष बनाउन लागेको हो । यही कोषका लागि रकम जुटाउने उद्देश्यले अष्ट्रेलियाका विभिन्न शहरमा वाक फोर वेलफेयर नामक अभियान सञ्चालन हुने भएको छ । 0U2A0144 copyगत शनिबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै यस अभियानका अष्ट्रेलिया संयोजक समिम अनवरले १९ मार्चमा सिड्नी, २ अप्रिलमा ब्रिसबेन, ९ अप्रिलमा पर्थ, १७ अप्रिलमा मेलबर्न र ७ मे का दिन एडिलेडमा वाक फर वेलफेयर सञ्चालन गरिने जानकारी दिनुभयो । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले अहिले विद्यार्थी कल्याणकारी कोष निर्माणमा विद्यार्थीलगायत नेपाली व्यवसायिक संस्थाहरुलाई समेत सहभागी हुने अवसर प्रदान गरिने जानकारी दिनुभयो । कसलाई कति सहयोग गर्ने, कसरी सहयोग गर्ने भन्ने विषयमा स्पष्ट कार्यनीति नै निर्माण गरेर अघि बढ्ने योजना रहेको सिग्देलाको भनाई छ । कार्यक्रममा एनआरएन ओसेनिया क्षेत्रीय संयोजक एवं विद्यार्थी कल्याणकारी कोषका संयोजक महेन्द्र लम्सालले वाक फर नेपाल कार्यक्रमबाट निश्चित रकम संकलन गर्ने र अन्य थप कार्यक्रम पनि ल्याउने बताउनुभयो । पहिलो चरणमा वाक फर वेलफेयरमार्फत एक लाख डलरको कोष खडा गर्ने प्रयास हुनेछ । त्यसपछि हामी विभिन्न विश्वविद्यालयहरुमा समेत पुगेर नेपाली विद्यार्थीका लागि बनाउन लागिएको कोषका निम्ति सहयोग गर्न अपिल गर्नेछौं । यसमा शैक्षिक परामर्शमा संलग्न व्यवसायीहरुको पनि साथ र सहयोग लिने तयारी गरिएको छ । नेपाली विद्यार्थीलाई अप्ठेरो परेको बेलामा उनीहरुलाई आर्थिक सहयोग गर्ने मात्र होइन आवश्यक पर्ने जानकारी, विद्यार्थीको मानसिक अवस्था सुधारका लागि विभिन्न परियोजना सञ्चालन, विभिन्न अवसर प्राप्तिका लागि आवश्यक पर्ने परामर्श लगायतका काम पनि विद्यार्थी कल्याणकारी कोषबाट नै गरिने भएको छ । पत्रकार सम्मेलनमा एनआरएनका कोषाध्यक्ष डिला खरेलले जवाफ दिँदै सामाजिक कल्याणकारी कोषमा अहिल पनि ९० हजार डलर रहेको र केही व्यक्तिहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेपनि सहयोग भने जम्मा गरिनसकेको बताएका थिए । संस्थामा आइसकेको पैसा पारदर्शी रुपमा र न्यायपूर्ण तवरमा वितरण हुने र आवश्यकले सहयोग प्राप्त गर्ने खरेलको भनाई थियो । विद्यार्थी कल्याणकारी कोषमा ओसेनिया क्षेत्रीय संयोजक महेन्द लम्साल हुनुहुन्छ भने अष्ट्रेलियाको हरेक राज्यका संयोजकहरु, एनआरएनका राष्ट्रिय अध्यक्ष र कोषाध्यक्ष पनि यो टिममा रहनेछन् । कार्यक्रममा एनआरएन अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समिति संयोजक दिनेश पोखरेलले छिट्टै नै विद्यार्थीहरुका लागि सूचनामूलक सेसनका साथै एमआरपी वितरण गर्ने कार्यक्रम राखिने पनि जानकारी दिनुभएको थियो । विद्यार्थीहरुका लागि काम गर्दा उनीहरुसँग परामर्श गरेर के कसरी अघि बढ्न सकिन्छ छलफलको माध्यमबाट अघि बढ्ने नीति एनआरएनको रहेको पोखरेलले स्पष्ट पार्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?