म्यानमारमा नयाँ राष्ट्रपतिको खोजी, सुकी भने बञ्चित हुने
म्यानमारमा करिब साढे दुई दशकपछि भएको प्रजातान्त्रिक तवरको आमनिर्वाचनपछि निर्माण भएको संसदको पहिलो संयुक्त अधिवेशन सोमबार सुरु भएको छ । सो संयुक्त अधिवेशनकै क्रममा आगामी राष्ट्रपतिको निर्वाचनका लागि आगामी मार्च महिनामा निर्वाचन गर्ने तय भएको समाचारमा जनाइएको छ । म्यानमारका नागरिकले आगामी राष्ट्रपति पाउन कम्तीमा पनि आगामी मार्चको मध्यसम्म कुर्नुपर्ने भएको बताइएको छ । आगामी मार्च महिनाको १७ तारिखमा नयाँ राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गरिने कार्यक्रम तय गरिएको म्यानमारको संयुक्त संसद बैठकका सभामुखले जानकारी दिनुभएको सोमबार प्राप्त समाचारमा जनाइएको छ । सन् १९९० मा सैनिक शासनले गराएको निर्वाचनमा सुकीले विजय हासिल गरी प्रधानमन्त्रीको पदका लागि निर्वाचित भएको भए पनि षड्यन्त्रपूर्वक रुपमा सुकीको दल नेसनल लिग फर डेमोक्रेसीलाई सरकार बनाउनबाट वञ्चित गराइयो थियो । उहाँलाई सैनिकको थुनामा बस्नुपरेको थियो । उहाँले त्यसपछिको दुई दशक जेल र नजरबन्दमा व्यतीत गर्नुप¥यो र हाल आएर भने उहाँको दलले नै आम निर्वाचनमा बहुमत हासिल गरेको छ ।
म्यानमारको हालको संविधानले नेत्री सुकीलाई राष्ट्रपति हुन पाउने प्रावधानबाट वञ्चित गरेको छ । उहाँको दलले यस प्रावधानको विरोध गरेको भए पनि निर्वाचनमा भने सहभागी भएको थियो र गत नोभेम्बरमा सम्पन्न भएको आमनिर्वाचनमा अत्यधिक बहुमत हासिल गरेको थियो । म्यानमारका प्रजातन्त्र प्रेमी जनता र विश्व समूदायको चाहनाले उहाँलाई म्यानमारको राष्ट्रपतिका रुपमा देख्न चाहेको भए पनि सो सम्भव नहुने भएको छ । त्यसैले नै उहाँको अत्यन्तै निकट कसले यस देशको राष्ट्रपतिको कुर्सी हातपार्ला भन्ने बारेमा यतिखेर म्यानमारमा उत्सुकता जागेको पाइएको छ । कैयौँ वर्षसम्म जेल र एक दशकभन्दा बढी निवासमा नजरबन्द रहेकी सुकीलाई सैनिक शासकहरुले सहजै सत्ता हस्तान्तरण गर्लान् त भन्ने प्रश्न भने अब छैन । किनभने संसदको बैठक सुरु भइसकेको छ र राष्ट्रपतिको निर्वाचनको मिति पनि तय भई नै सकेको छ । तर पनि सधैँजसो विश्वको ध्यान तानिरहेको म्यानमारमा यतिखेर पनि राष्ट्रपति को होला भन्ने विषयले प्राथमिकता पाएको बताइएको छ ।