कोइरालाको निधनले अष्ट्रेलियावासी नेपाली दुःखी, भिक्टोेरियाका महावाणिज्यदूत चन्द्र योञ्जनबाट सामवेदना
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा अष्ट्रेलियामा रहेका नेपालीहरुले शोक व्यक्त गरेका छन् । यहाँ रहेका विभिन्न संघ संस्थाले पनि विज्ञप्ति प्रकाशित गर्दै कोइरालाको असामयिक निधनमा दुःख व्यक्त गरेका छन् । यसैबीच, भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले एक विज्ञप्ति प्रकाशित गर्दै कोइरालाको निधनको खबरले मर्माहत भएको जनाउनुभएको छ । उहाँले कोइरालाको निधनबाट देशले एक सच्चा राजनेता गुमाएको बताउनुभयो । भिक्टोरियामा रहने नेपाली समूदायको तर्फबाट नेपाल सरकार र नेपाली जनताप्रति यस दुःखद घडीमा समवेदना पनि व्यक्त गरिएको छ । यसैगरी, प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले पनि एक विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनले सबैलाई स्तब्ध र मर्माहत तुल्याएको जनाएको छ । यस घडीमा दिवंगत कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं, प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष डा. विनोद श्रेष्ठले विज्ञप्तिमा लेख्नुभएको छ । यसैगरी नेपाली काँग्रेस सम्बद्ध अष्ट्रेलियावासी नेपालीहरुको संगठन एनएडीएफले पनि एक विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेसका पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री, वर्तमान नेपालको संविधानका निर्माता सुशील कोइरालाको निधनबाट सच्चा प्रजातान्त्रिक योद्धा गुमाएको उल्लेख गरेको छ । संस्थाले कुनैपनि लोभ र लालचमा नपर्ने, प्रजातन्त्रको निम्ति कसैसँग सम्झौता नगर्ने, निष्ठाको राजनीतिमा विश्वास गर्ने र आजीवन एउटा त्यागी एवं सादा जीवनशैलीको नेताको रुपमा चिनिनुभएका सभापति कोइरालाको आत्माको चीरशान्तिको कामना गर्दै सिंगो नेपाल, नेपाली जनता र शोकाकूल परिवारमा एनएडिएफ हार्दिक समवेदना प्रकट गर्दछ भनिएको छ ।