अमेरिका र जपान उत्तरकोरियाविरुद्ध कारवाही गर्ने पक्षमा
अमेरिकी राष्ट्रपति बाराक ओबामा र जापानी प्रधानमन्त्री सिञ्जो अबेले उत्तर कोरियामाथि कारबाही हुनुपर्ने माग गर्नुभएको छ । उहाँहरुबीच मङ्गलबार सो विषयमा फोनवार्ता भएको थियो । वार्ताका क्रममा सो विषयमा सहमति भएको बताइएको छ । उत्तर कोरियाले गरेको रकेट प्रक्षेपणका कारण संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको शान्ति तथा निशस्त्रीकरणसम्बन्धी सम्झौताको उल्लङ्घन भएकोले उत्तर कोरियाका बिरुद्धमा कारबाही हुनु आवश्यक रहेको उहाँहरुको भनाई छ । उत्तर कोरियाले यस पटकमात्र नभएर बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्ने गरेको र यसले अन्तर्राष्ट्रिय शान्ति तथा मैत्री सन्धि सम्झौताहरुको पनि उल्लङ्घन गरेकोले यसपटक उक्त देशमाथि कारबाही हुनुपर्ने माग गरिएको हो । उत्तर कोरियाले गएको आइतबार लामोदुरीसम्मको एक शक्तिशाली रकेट प्रक्षेपण गरेको थियो । त्यस घटनाको विश्वव्यापी रुपमा विरोेध जारी रहेको छ ।