तपाईंको एमआरपी दूतावासमा आइपुग्यो ? सिड्नीबाटै लिनेभए नाम टिपाइहाल्नुहोस्
एनआरएन न्यूसाउथवेल्स राज्य समितिको आयोजनामा आगामी फेब्रुअरी २७ तारिखमा विद्यार्थी जानकारी र एमआरपी वितरण कार्यक्रम हुने भएको छ । एमआरपी लिनका लागि क्यानबेरास्थित दूतावाससम्म जान नभ्याउनेहरुका लागि यो अति नै लाभकारी हुने देखिएको छ । उनीहरुले सिड्नीको हर्सटभिलस्थित सिभिक थियटरबाट नै यो सेवा लिन सक्नेछन् । दिउँसो १२ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने यो कार्यक्रमका विषयमा जानकारी दिँदै एनआरएन न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेलले विद्यार्थीहरुले अहिले भोग्नुपरेका विभिन्न समस्या, बिमा, भर्ना लगायतका विषयमा विज्ञहरुले जानकारी दिने र विद्यार्थीका समस्याका विषयमा प्रश्नोत्तर सेसन समेत हुने जानकारी दिनुभयो । यसका लागि एनआरएनले यहाँ शैक्षिक परामर्श क्षेत्रमा क्रियाशिल रहेका व्यवसायीहरुको संगठन एक्कासँग सहकार्य गर्ने भएको छ । यसैगरी एमआरपी वितरणका लागि २३ फेब्रुअरीसम्ममा एनआरएनमा सम्पर्क राखेर आफ्नो पुरानो पासपोर्ट नम्बर र नाम लेखाएका व्यक्तिहरुको राहदानी सिड्नीबाट नै प्राप्त गर्न सकिने व्यवस्था हामीले मिलाएका छौं । पोखरेलले भन्नुभयो, दूतावासमा आएका सबै एमआरपी बोकेर आउने भन्ने होइन, तर दूतावासको वेवसाईटमा क्यानबेराबाट संकलन गर्नका लागि तयारी अवस्थामा रहेका पासपोर्टमध्ये हामीसँग सम्पर्क राखेर सिड्नीबाट नै संकलन गर्छु भन्नेहरुका लागि यो सेसन राखिएको हो । विद्यार्थीहरुका लागि राखिएको जानकारीमूलक सेसनबाट आगामी वाक फर वेलफेयर सम्बन्धी जानकारी पनि विद्यार्थीवर्गलाई गराइन लागेको एनआरएन न्यूसाउथवेल्सका उपसंयोजक प्रकाश खरेलले जानकारी दिनुभयो । खरेलका अनुसार क्यानबेरामा एमआरपी आइसकेका र त्यहाँसम्म जान समय अभावले नभ्याएकाहरुले उपसंयोजक खरेल, सचिव भुपाल सिटौला र लक्ष्मण सापकोटालाई आफ्नो नाम र पासपोर्ट नम्बर टिपाउन सक्नेछन् ।