ब्रिसबेनमा पनि अभिभावकहरुको लागि वनभोजको आयोजना, स्वास्थ्य परीक्षण पनि गरिने


qldएनआरएन क्वीन्सल्याण्ड राज्य समितिले आगामी मार्च ५ तारिखका दिन क्वीन्सल्याण्डमा रहेका अभिभावकहरुको लागि वनभोज कार्यक्रम गर्ने भएको छ । मुख्यतः भ्रमण भिसामा क्वीन्सल्याण्ड आउनुभएका अभिभावकहरुको यहाँको बसाईलाई मनोरञ्जक र जानकारीमूलक बनाउने साथै एकअर्कासँग भेटघाटको मौका जुराउने अवसरको रुपमा यस कार्यक्रमलाई अघि बढाइएको एनआरएन क्वीन्सल्याण्ड राज्य समितिका संयोजक अभिमानसिंह बस्नेतले जानकारी दिनुभयो । वनभोज मात्र नभएर उपस्थित अभिभावकहरुमा कुनै स्वास्थ्य समस्याका विषयमा परामर्श समेत उपलब्ध गराइने र परीक्षणको व्यवस्था गरिने पनि बस्नेतको भनाई छ । अभिभावकहरुसहित ४ सयको उपस्थिति रहने दाबी गरेको एनआरएन क्वीन्सल्याण्ड राज्य समितिले यसका निम्ति मेरी क्रेन क्रस पार्कलाई गन्तव्य छानेको छ । विहान ७ बजेदेखि साँझ ५ बजेसम्मको पूरै दिन अभिभावकहरुलाई विभिन् नक्रियाकलापमा सहभागी गराइने र मनोरञ्जनका कार्यक्रम समेत आयोजना गर्ने योजना संस्थाको छ । मुख्यतः नेपालमा व्यस्त जीवन व्यतित गरिरहेका अभिभावकहरु अष्ट्रेलिया आएपछि साथीभाई पनि भेट्न नपाउने र न्यास्रो मान्ने गरेको अनुभव धेरैले गरेका छन् । यसलाई मेटाउनका लागि पछिल्लो समयमा सानोसानो स्तरमा विभिन्नखाले जमघट आयोजना हुँदै आएपनि एनआरएन न्यूसाउथवेल्सले पहिलो पटक बृहद अभिभावक भेला केहीसमय अघि सिड्नीमा आयोजना गरेको थियो । सिड्नीको अभिभावक भेलासँगै अष्ट्रेलियाका अन्य राज्यहरुमा समेत यस्तैखाले भेलाको पहल त्यतिबेलैबाट सुरु भएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?