नेपाल भारतलाई हराउँदै साफ फुटबलको उपाधि चुम्न सफल, भारत १ नेपाल २
सन् १९९३ मा भएको सार्कस्तरीय फुटबल प्रतियोगिता आफ्नो कब्जामा पारेको नेपालले त्यसको २३ वर्षपछि भारतलाई पराजित गर्दै सार्कस्तरीय फुटबलमा गोल्ड मेडल जितेको छ । यो जितसँगै नेपाली फुटबलको नयाँ युग सुरु भएको छ । भारतले पेनाल्टीमार्फत गरेको गोललाई ६५ औं मिनेटमा प्रकाश बुढाथोकीले गोल गरेका थिए । उनले पाएको फ्रिकिकलाई सिधै गोल पोष्टमा छिराउन सफल भए । यो उत्कृष्ट गोलपछि लयमा फर्किएको नेपालले शानदार प्रदर्शन अगाडि बढाउँदै ५ मिनेट पछि नै ७० औं मिनेटमा नवयुग श्रेष्ठको गोलको मद्दतले अग्रता लियो । यही अग्रतालाई अन्तिमसम्म कायम राख्दै नेपाल भारतलाई फाईनलमा पराजित गर्न सफल भएको हो । यतिबेला विश्वभरि रहेका नेपालीहरु नेपालको विजयमा खुशीयाली मनाइरहेका छन् । सामाजिक सञ्जालमा उनीहरु खुशी व्यक्त गरिरहेका छन् भने काठमाडौंमा नेपालको नारासहित युवाहरु सडकमा आएका छन् । न्यूरोड, रत्नपार्क लगायतका क्षेत्रमा युवाहरु फुटबल सकिने बित्तिकै खुशीले सडकमा नेपालको पक्षमा नाराबाजी गर्दै आएका हुन् । अर्कोतर्फ, भारतमा खेल भइरहेकै स्थलमा समेत नेपाली प्रशंसकहरु ठूलो मात्रामा उपस्थित भएका थिए । खेलमा विजय अघि नै उनीहरुले नेपालको पक्षमा चर्को नाराबाजी गरेका थिए ।