अष्ट्रेलियामा फेरि एक नेपाली युवकको मृत्यु, आफ्नै कोठामा झुण्डिएर आत्महत्या


raju bhandariअष्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा एक नेपाली युवकले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका छन् । काठमाडौं निवासी राजु भण्डारीलई आज विहान ग्रानभिलस्थित आफ्नो डेरामा झुण्डिएको अवस्थामा सोही घरमा बस्ने नेपालीले देखेका थिए । यस लगत्तै प्रहरीलाई खबर गरेको र प्रहरी आउँदा उनको मृत्यु भइसकेको थियो । प्रहरीले अहिले उनको शवलाई पोष्टमार्टमका लागि अस्पताल लगेको छ । उनको मृत्युमा यहाँस्थित नेपाली समूदायका सदस्यहरुले दुःख व्यक्त गरेका छन् । करिब दुई वर्ष अघि अष्ट्रेलिया आएका भण्डारीको परिवारलाई खबर गरिसकिएको र परिवारले उनको अन्तिम संस्कार नेपालमा नै गर्ने ईच्छा गरे बमोजिम शवलाई नेपाल पठाउने प्रक्रिया सुरु गरिएको सोही स्थानमा बसोबास गर्दै आएका सीके भुसालले एमएनटीभीलाई जानकारी दिनुभयो । भुसालले भन्नुभयो, “मेरो घर नजिकै यस्तो घटना भएछ । हामीले परिवारलाई खबर गरिसकेका छौं । परिवारले उतै दाहसंस्कार गर्ने बताउनुभएको छ । त्यसै अनुसार गर्ने तयारी भएको छ ।” न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्काले भण्डारीको मृत्युप्रति दुःख व्यक्त गर्नुभएको छ । अहिले नेप्लीज अष्ट्रेलियन युथ एशोसिएसन नयाले भण्डारीको शव नेपाल पठाउनका लागि संयोजन गरिरहेको संस्थाका अध्यक्ष कोमल पाठकले जानकारी दिएका छन् । यस्तै गैरआवासीय नेपाली संघ न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेलले पनि एनआरएनमार्फत उनको शव पठाउनका लागि पहल भइरहेको र सामाजिक कल्याण कोषबाट आर्थिक सहयोग गरिने जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?