वाक फर वेलफेयरमार्फत समूदायलाई जोड्दै एनआरएन
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले विभिन्न राज्यमा गर्न लागेको वाक फर वेलफेयरमा सहभागिताका लागि समूदायमा उत्साह देखिएको छ । विभिन्न पाँच राज्यमा आयोजना गर्न लागिएको यस कार्यक्रमको तयारी जोडतोडले चलिरहेको छ । कार्यक्रममा विभिन्न व्यवसायिक संघ संस्थाले सहयोग गर्नुका साथै समूदायका सदस्यहरुले यसलाई स्वस्थ रहने र समाजलाई योगदान गर्ने अवसरका रुपमा लिएको बताएका छन् । सिड्नीमा आगामी १९ मार्चमा गरिने पहिलो कार्यक्रमसँगै यसमा देखिने सहभागिताले ब्रिसबेन, पर्थ, मेलबर्न र एडिलेडमा समेत उत्साह थप्ने कार्यक्रमका राष्ट्रिय संयोजक समिम अनवरको ठम्याई छ । हालै सिड्नीको रकडेल सिटी काउन्सिलले समेत यस कार्यक्रमलाई सहयोग गर्ने भएपछि उत्साह थपिएको अनवरले बताउनुभयो । यो कार्यक्रम एनआरएन अष्ट्रेलियाको नियमित कार्यक्रम हुनेछ । तर, यस पटक हामी वाक फर वेलफेयर मार्फत अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको निम्ति बन्न लागेको विद्यार्थी कल्याणकारी कोषमा एक लाख डलर सहयोग गर्ने योजनामा साथ दिँदैछौं, अनवरले एमएनटीभीसँगको कुराकानीमा बताए । विद्यार्थी कल्याणकारी कोषका संयोजक महेन्द्र लम्साल पछिल्लो समय विद्यार्थीहरुमा देखिएका विभिन्न समस्यालाई अष्ट्रेलियाको नेपाली समूदायले सम्बोधन गर्नका लागि समेत विद्यार्थी कल्याणकारी कोषको आवश्यकता अझ बढेको देखिएको बताउनुहुन्छ । एनआरएन अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समिति संयोजक दिनेश पोखरेल कार्यक्रमले समूदायलाई जोड्न पनि थप मद्दत गर्ने आशा गर्नुहुन्छ । सिड्नीमा ब्राईटन ले स्याण्ड पार्क द ग्राण्ड परेडमा विहान ७ बजेदेखि ११ बजेसम्म सामूहिक रुपमा हिंड्ने कार्यक्रम तय भएको छ । यसरी सँगै करिब २ घण्टाभन्दा बढी हिंड्दा एक आपसमा सम्बन्धको पुनर्ताजगी हुने, नयाँ सम्बन्ध स्थापित हुने अनि आफ्नो समूदायका लागि केही सहयोग समेत हुने भएपछि धेरैजना उत्साही बनेको एनआरएन न्यूसाउथवेल्सका सचिव भुपाल सिटौलाले जानकारी दिनुभयो । हरेक कार्यक्रममा देखिने एउटै अनुहारभन्दा पनि यस पटक विद्यार्थी लगायत न्यूसाउथवेल्समा स्थापित रहेका नेपाली समूदायका सदस्यहरु जो अहिलेसम्म बाहिर आउन सकेका छैनन् तिनीहरुलाई समेत सहभागी गराउन सक्ने हो भने पक्कै पनि यो कार्यक्रमको उद्देश्यले मूर्तरुप लिने कुरामा दुईमत मान्न सकिँदैन । थप जानकारी र रजिष्ट्रेशन यहाँ गर्न सकिन्छ
http://walkforwelfare.org.au/