नारी निकुञ्ज डलर अफ मन्थ प्रोजेक्ट सुरु गर्दै, परोपकारका लागि अर्थ संकलन गरिँदै
नारी निकुञ्ज अष्ट्रेलियाले अब डलर अफ द मन्थ अभियान सञ्चालन गर्ने भएको छ । आगामी मार्च ६ तारिखका दिन अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सिड्नीमा आयोजना गरिने गाला डिनरबाट यस अभियानको सुरुवात गरिनेछ । दाताले हरेक महिना एक डलर नारी निकुञ्जको खातामा जम्मा गर्ने अभियान नै डलर अफ द मन्थ भएको नारी निकुञ्ज अष्ट्रेलियाकी संयोजक सिर्जना संग्रौलाले जानकारी दिनुभयो ।
यसरी नारी निकुञ्जको यो अभियानमा साथ दिने सबैको नामावली संस्थाको वेवसाईटमा राख्ने र संकलित रकमले नेपालका विभिन्न ठाउँमा मुख्यत महिला स्वास्थ्यको क्षेत्रमा विभिन्न परियोजना सञ्चालित गर्ने योजना नारी निकुञ्जको छ । संयोजक संग्रौलाका अनुसार नारी निकुञ्जले अहिलेसम्म नेपालका करिब ५ वटा जिल्लामा २ सयभन्दा बढी पाठेघर खस्ने समस्याले पीडित महिलाहरुको निःशुल्क उपचार गरिसकेको छ । यो वर्ष थप २० जना खोटाङ का महिलाहरुको निःशुल्क पाठेघर खस्ने समस्याको उपचार गरिनेछ । यसका लागि सहयोगी नेपाल नामक संस्थासँग निकुञ्जले सहकार्य गरेको छ । यससँगै नेपालमा गरिबी र अशिक्षाको चपेटामा परेका महिलाहरुलाई आत्मनिर्भर बनाउन र उनीहरुको दैनिक आर्थिक अभावलाई हटाउन शिपमूलक तालिम र आधुनिक कृषि सम्बन्धी तालिम समेत दिने भएको छ । यस्तै निकुञ्जले विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त गोरखाको एक स्कुलको पुननिर्माणका लागि रकम पनि उपलब्ध गराउने बताइएको छ । यसअघि निकुञ्जले गरेका कामबारे जानकारी दिँदै संयोजक संग्रौलाले परोपकारी कामका लागि आर्थिक संकलन गर्न एक डलर अभियान ल्याइएको बताउनुभयो । हामीले परोपकारी काम मात्र होइन प्रवासमा रहेका नेपाली नेपालीको एकता, भाषा, संस्कृतिको जगेर्नाका लागि पनि काम गरिरहेका छौं । हरेक वर्ष तिजको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम गरी त्यसबाट संकलित रकम परोपकारी काममा नै लगाएका छौं । नारी निकुञ्जले हरेक वर्ष आर्थिक अवस्था कमजोर रहेका २ जना बालिकालाई छात्रवृत्ति पनि दिँदै आएको छ ।