सिरियाली राष्ट्रपति असादद्वारा विद्रोहीलाई पूर्ण क्षमादान दिने प्रस्ताव
सिरियामा संयुक्त राज्य अमेरिका र रसियाको पहलमा चार दिनअघि गरिएको युद्धबिरामपछि मङ्गलबार जर्मनीको एक टेलिभिजनलाई दिनुभएको अन्तरवार्तामा राष्ट्रपति बसार अल असादले राज्यले विद्रोहीले सरकारलाई हतियार बुझाई सामान्य जीवनमा फर्किएमा उनीहरूलाई पूर्ण क्षमादान दिने प्रस्ताव गर्नुभएको छ । मङ्गलबार प्रसारित एक कार्यक्रमकालागि एआरडी टेलिभिजनलाई दिइएको राष्ट्रपतिको अन्तरवार्तामा असादलाई विद्रोहीलाई सामान्य जीवनमा फर्किने अवसर प्रदान गर्न सरकारले के गर्छ त भन्ने प्रश्नमा राष्ट्रपतिले भन्नुभयो, हतियार बुझाएर राजनीति गर्न चाहने वा स्वतन्त्र नागरिकका रूपमा रहने जो कोहीले पनि क्षमा पाउनसक्ने बताउनुभयो । सामान्य नागरिकले मेसिनगन लिएर जनतालाई तर्साउन नहुने बताउँदै राष्ट्रपति असादले भन्नुभयो, सबभन्दा महत्वपूर्ण कुरा नागरिकलाई मेसिनगनले तर्साएर राजनीति गर्नु राम्रो नभएको र हामीले सिरियाली विद्रोहीबाट अपेक्षा गरेको कुरा योभन्दा बढी केही होइन । यसअघि विद्रोही लडाकूका रूपमा युद्ध गरे पनि यदि उनीहरू राज्यको कानुनलाई मानेर अघि बढेमा विद्रोहीले एक प्रतिष्ठित नागरिकका हैसियतमा क्षमा पाउने राष्ट्रपति असादले बताउनुभयो । यसैबीच रसियाका विदेशमन्त्री सर्गेइ लाभरोभले संयुक्त राष्ट्रसङ्घ मानवअधिकार परिषद् मङ्गलबार सिरिया र टर्कीको सिमानामा विभिन्न आईएस विद्रोही समूह हतियारसहित तैनाथ रहेको भन्दै यसप्रति रसिया चिन्तित बनेकोे मंगलबारै बताउनुभएको छ । विदेशमन्त्री लाभरोभले उक्त अवसरमा आतङ्ककारी समूहहरूसँग रासायनिक हतियार निर्माण गर्ने विज्ञहरूलाई भाडामा लिई रासायनिक हतियार निर्माण तालिम लिइरहेको सूचना प्राप्त भएको जनाउनुभएको थियो ।