अष्ट्रेलियाको जनसम्पर्क समितिबाट सिटौलाको टोलीलाई मान्यता, कृष्ण गिरी समूह पछारियो
विगत लामो समयदेखि विवादमा रुमल्लिएको नेपाली काँग्रेसको प्रवासी संगठन जनसम्पर्क समिति अष्ट्रेलियाको विवाद अन्ततः महाधिवेशनबाट टुंगो लागेको छ । नेपाली काँग्रेसको केन्द्रले सन्तोष सिटौलालाई अध्यक्षका रुपमा मान्यता दिँदै उनले सिफारिश गरेको टोलीलाई महाधिवेशन प्रतिनिधिका रुपमा प्रवेश दिने निर्णय गरेको छ । जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष सन्तोष सिटौलासहित निल थपलिया, कञ्चन पोख्रेल, विश्वामित्र खनाल, भिम लुईटेल, दुर्गा आचार्य, नेत्र पौडेलको टोली आजबाट सुरु हुने नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी हुनेछ । यसअघि सिड्नीमा केन्द्रीय प्रतिनिधिसहितको अधिवेशनबाट चुनिएका सन्तोष सिटौला नेतृत्वलाई चुनौती दिन जनसम्पर्क समिति मकाओका अध्यक्ष सुदर्शन थापामगरको प्रमुख आतिथ्यमा अर्को अधिवेशनले कृष्ण गिरीलाई नेतृत्व सुम्पेको घोषणा गरेको थियो । आफुलाई सर्वसम्मत अध्यक्ष भएको दाबी गरेका कृष्ण गिरी भने महाधिवेशन हलमा समेत प्रवेश गर्न नपाई फर्कनुपर्ने अवस्था आएको अध्यक्ष सिटौलाले बताए । उनले यसअघि एमएनटीभीसँग भनेका थिए “हामी सबै मिलेर केन्द्रीयस्तरका नेतालाई बोलाएर रसियन सेन्टरको हलमा उद्घाटन सत्र र बन्द सत्र गरेर अधिवेशन सम्पन्न गरेका हौं । त्यसमा सबै साथीले डा. कोइरालाको निर्णय स्वीकार्छौं भनेर दिनुभएको पनि हो । त्यसपछि उहाँले बुझेर जे निर्णय गर्नुभयो त्यसलाई हामीले स्वीकारेका हौं । २० जना जम्मा भएर जे पायो त्यही गर्न कहाँ पाइन्छ ? महाधिवेशनबाट धेरै कुराको टुंगो लाग्छ ।”
यसैबीच, १३ औं महाधिवेशनमा पर्यवेक्षकका रुपमा प्रेम सापकोटा, दिनेशराज जोशी, सोम गुरुङ, डा ज्ञानेन्द्र रेग्मी, निरञ्जन प्रसाई, ओम पन्त पनि सहभागी हुन पाउने छन् । अन्यको हकमा महाधिवेशनको उद्घाटन सत्रमा फोटो खिचाउने र बन्द सत्रलाई बाहिरबाट नियाल्ने काम मात्र बाँकी रहेको टिप्पणी स्वयं जनसम्पर्क समिति अष्ट्रेलियाका क्रियाशिल सदस्यहरुले गर्न थालेका छन् ।