भूकम्पपछिको सहयोगका विषयमा बुझ्न अष्ट्रेलियन सांसदसहितको टोली काठमाडौंमा, प्रधानमन्त्रीसँग भेट गर्ने


नेपालमा गत वैशाखमा गएको विनाशकारी भूकम्पपछिको स्थिति र कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा बुझ्नका लागि अष्ट्रेलियाको विपक्षी दल लेबर पार्टीका सांसदसहितको प्रतिनिधि मण्डल आजबाट तीन दिने भ्रमणमा नेपाल आइपुग्दैछ ।

sam
Sam Dastyari, Australian Senator representing New South Wales

टोलीसँगै लेबर पार्टीका स्थानीय अगुवा एवं एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष गोबा कटवाल पनि हुनुहुन्छ । टोलीमा सिनेटर साम डस्ट्यारी, अष्ट्रेलियन लेबर पार्टीकी नेतृ ऐइशा कल्सम अमजद र अष्ट्रेलियन लेबर पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य हरिश भेलजी रहेका छन् । यस्तै विशेष अतिथिका रुपमा टोलीमा एनआरएन अध्यक्ष शेष घले, न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूत दिपक खड्का रहनुहुनेछ । त्यसैगरी एनआरएनका पूर्वअध्यक्ष गोवा कटवाल, एनआरएन अष्ट्रेलिया नेपाल पुननिर्माण टास्क फोर्सका संयोजक गणेश केसी, सहसंयोजकद्वय राज खनाल, पदमलाल सापकोटा, सदस्यहरु कृष्ण गिरी, सुरेश गुरुंग, मेघराज श्रेष्ठ, एमएनटीभी अष्ट्रेलियाका प्रधान समाचार सम्पादक चिरञ्जीवी देवकोटा पनि टोलीमा हुनुहुन्छ । टोलीले राष्ट्रपति, प्रधानमन्त्री, अर्थमन्त्री, पुनिनिर्माण प्राधिकरणका प्रमुखसँग भेट गर्ने र भक्तपुरमा भूकम्पले क्षति भएका ठाउँहरुको अवलोकन गर्ने कार्यक्रम तय भएको छ । एनआरएन अष्ट्रेलिया नेपाल पुननिर्माण टास्क फोर्सका संयोजक गणेश केसीले दिएको जानकारी अनुसार भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ भने शनिबार आइपुग्ने टोलीको सम्मानमा अष्ट्रेलियाको न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्काले रात्रीभोजको आयोजना गर्नुभएको छ । यसैगरी आइतबार विहान पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँको निवास बालुवाटारमा टोलीले भेट्नेछ । सोही दिन अर्थमन्त्री विष्णु पौडेल, पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग पनि भेटेर पुननिर्माणका क्रममा अहिलेसम्म भएका कार्यहरुको जानकारी लिनेछ । आइतबार नै भूकम्प प्रभावित भक्तपुर जिल्लाको भ्रमण गर्ने र सोमबार प्रमुख दलका शीर्ष नेताहरुसँग भेट्ने कार्यक्रम तय भएको केसीले जानकारी दिनुभयो । नेपालमा विनाशकारी भूकम्प पछि सांसदसहितको टोलीले भ्रमण गरेको यो पहिलो पटक हो । अष्ट्रेलियामा रहेका नेपाली समूदायको विशेष पहल र आग्रहमा विपक्षी दल लेबर पार्टीको तर्फबाट पुननिर्माणमा के कस्तो सहयोग बढाउन सकिन्छ भन्ने अध्ययनका लागि यो भ्रमण भएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?