नेपाल भ्रमणमा रहेको अष्ट्रेलियन सिनेटरको टोलीबाट प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट
नेपाल भ्रमणमा रहनुभएका अष्ट्रेलियन सिनेटर साम डेस्ट्यारीसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा भूकम्प पछिको पुनर्मिाणका विषयमा भएका कामहरुको प्रगतिबारे कुराकानी भएको छ । भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले अष्ट्रेलियाले अहिलेसम्म गरेको सहयोगको प्रसंसा गर्दै आगामी दिनमा पनि यसै किसिमको सहयोग हुने अपेक्षा गर्नुभयो । अष्ट्रेलियाको संसदको तर्फबाट नेपालको भूकम्प पीडितहरुका लागि थप के सहयोग गर्नुपर्छ भन्ने अध्ययनका लागि आएको टोलीनेता सिनेटर साम डेस्ट्यारीले पुननिर्माण र राहतका विषयमा भएका कामको विषयमा उत्सुकतापूर्वक जिज्ञासा राख्नुभएको थियो । टोलीका साथमा नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाईट, न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूत दिपक खड्का, एनआरएन अध्यक्ष शेष घलेसहितका पदाधिकारी, अष्ट्रेलियन लेबर पार्टीका नेपाली समूदायका अगुवा गोवा कटवाल, एनआरएन पूर्वअध्यक्ष एवं एनआरएन अष्ट्रेलिया पुननिर्माण टास्क फोर्सका संयोजक गणेश केसी, प्रेम सापकोटा लगायत सहभागी हुनुहुन्थ्यो । सरकारले आगामी वैशाख १२ गतेभित्रै देशका विभिन्न क्षेत्रबाट पुननिर्माणको थालनी गर्न लागेको प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको थियो । गैरसरकारी संस्थाहरुलाई काम गर्नका निम्ति किन अप्ठ्यारो भइरहेको छ भन्ने जिज्ञासा नेपालका लागि अष्ट्रेलियन राजदूत ह्वाईटले प्रधानमन्त्री समक्ष राख्नुभएको थियो भने प्रधानमन्त्रीले यी सबै अप्ठेरोहरुलाई सहज बनाउँदै तत्कालै काम अघि बढाउन सरकारले पहल गरिसकेको बताउनुभएको थियो । यसका लागि देशैभर १५ सय भन्दा बढी ईन्जिनियरहरु वास्तविक क्षतिको विवरण लिन र पुननिर्माणको खाका बनाउन खटिएको पनि उहाँले जानकारी दिनुभएको थियो । भेटमा सिनेटर डास्ट्यारीले अष्ट्रेलियामा रहेको नेपाली समूदायले गरेको योगदानको प्रसंसा गर्नुभएको थियो । उक्त अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलले एनआरएन एक हजार घर बनाउनका निम्ति तम्तयार भएपनि विभिन्न व्यवधानका कारण काम सुरु गर्न नसकिएको गुनासो गर्नुभयो । सरकारी प्रावधानहरुलाई सहज बनाई कम्तिमा नमूना निर्माण तत्कालै सुरु गर्न सकेको अवस्थामा यसले थप सहयोग समेत प्राप्त हुने उहाँले बताउनुभयो । पुननिर्माणका लागि सरकारका विशेष दूत समेत रहनुभएका घलेले विदेशमा रहेका नेपाली र विदेशी समेत नेपालको पुननिर्माणमा स्वयंसेवक भई खटिन ईच्छुक रहेको बताउनुभयो । भेटका क्रममा प्रधानमन्त्रीसँग उहाँका राजनीतिक सल्लाहकार विष्णु रिमाल समेत सहभागी हुनुहुन्थ्यो ।
यसैबीच भ्रमण टोलीले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापासँग परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट पनि सम्पन्न गरेको छ । भेटका अवसरमा पछिल्लो समयमा देशमा उत्पन्न भएको अघोषित नाकाबन्दी र वस्तुहरुको अभावका कारण पुननिर्माण प्रभावित भएको मन्त्री थापाले बताउनुभयो । तर, अहिले सबै समस्या समाधानको दिशामा अघि बढेको भन्दै उहाँले नेपालका राजनीतिक दलहरुबीच पुननिर्माणको विषयलाई लिएर एकता रहेको जानकारी गराउनुभयो । उहाँले पनि अष्ट्रेलियाले नेपालको भूकम्प पीडितहरुको समस्या समाधानमा खेलेको भूमिकाको प्रसंसा गर्दै आगामी दिनमा सहयोग निरन्तर रहने आशा व्यक्त गर्नुभएको थियो । सिनेटर साम डेस्टीयारीले आफु भूकम्पले क्षति पुगेको गोर्खाको लारपाकको भ्रमणमा जान लागेको जानकारी गराउँदै अष्ट्रेलिया सधैं नेपालको साथमा रहने बताउनुभयो ।
यस लगत्तै टोलीले पुननिर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवाली, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडासँग पनि भेट गरी पुननिर्माणमा हालसम्म भएको प्रगति, अब चाहिने अन्तर्राष्ट्रिय सहयोग लगायतका विषयमा जानकारी हासिल गरेको छ ।