सरकारी झमेलाले घर निर्माणमा ढिलाई भएको एनआरएन अध्यक्ष घलेको भनाई, लाप्राकलाई नमूना बनाउने
एनआरएन अध्यक्ष एवं भूकम्प पछिको पुननिर्माण कोष संकलनमा सरकारका विशेष दूत शेष घलेले सरकारी ढिलासुस्तीका कारण पुननिर्माणको काम अघि बढ्न नसकेको बताउनुभएको छ । पहिलो पटक गोरखाको लाप्राकमा पुग्दा स्थानीय बासिन्दाको दुःख देखेर, उनीहरुका कुरा सुनिसकेपछि घलेले यस्तो बताउनुभएको हो । “सरकारी निकायहरुको समन्वयको अभावमा हामी तम्तयार भएर घर बनाउन बस्दा पनि काम हुन सकेको छैन”, घलेको भनाई छ । अष्ट्रेलियन सिनेटर शाम डेष्ट्यारीलाई लिएर एनआरएनले गरिरहेका कामहरुको अवलोकन गराउन गोरखाको लाप्राक र गुप्सीफेदीमा पुगेको एनआरएन र अष्ट्रेलियन भ्रमणदलको टोलीको स्वागतमा आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष घलेले गुप्सीफेदीमा नमूना गाउँ बनाउने र आयमूलक, रोजगारमूलक अवसरहरु सिर्जना गर्ने आफुहरुको योजना भएको बताए । कार्यक्रममा पुननिर्माण प्राधिकरणका सदस्य चन्द्रबहादुर श्रेष्ठले सरकारले छिटोभन्दा छिटो काम अघि बढाउन चाहेको बताउँदै नाकाबन्दी लगायतका समस्याले केही थप समय लागेको बताउनुभएको थियो । तर, अब १६ सय भन्दा बढी ईन्जिनियर देशैभरि खटिएका छन् । उनीहरुले ल्याएको रिपोर्टको आधारमा सरकारले २ लाखसम्म पीडितलाई उपलब्ध गराउने र त्यसपछि ३ लाखसम्म सामूहिक जमानीमा र १५ लाखसम्म धितो राखेर ऋण दिने बताएका थिए । स्थानीय बासिन्दाले भने सरकारी ढिलासुस्तीका कारण आफुहरु अहिले पनि प्लाष्टिकको छानोमुनी बस्न बाध्य भएको गुनासो गरेका थिए । “भूकम्पबाट बाँचियो भनेको तर अहिले यहाँ कहिले हुरी आउँछ, कहिले हिउँले थिच्छ साह्रै गाह्रो भएको छ”, स्थानीय वीसबहादुर गुरुंगको भनाई छ । भूकम्पको केन्द्रविन्दु बारपाकभन्दा माथि रहेको लारपाकमा करिब ६ सय घरधुरी थिए । सरकारले लाप्राकको भूबनोटलाई अध्ययन गरेर यहाँ बस्न नहुने र वस्ती सार्नुपर्ने भनेपछि अहिले वस्ती माथि डाँडामा रहेको गुप्सीफेदीमा सारिएको छ । तर, पुननिर्माणको काम हुन नसक्दा स्थानीय चिन्तित बनेका छन् । एनआरएनले यहीँ गुप्सीफेदीबाट नमूना पाईलट परियोजना सुरु गर्ने लक्ष्य राखेको छ । तर, सरकारी निकायको समन्वयको अभावमा काम भने अघि बढ्न सकेको छैन । अझै पनि अध्ययनकै काम भइरहेको छ । “अब बैंक खाता खोल्ने कुरा सरकारले गरेको छ । भूकम्प आएको १० महिना भइसक्यो अझै केही हुन नसकेको देख्दा साँच्चै हामी कति धेरै पीडित रहेछौं भन्ने देखिएको छ”, एनआरएन अष्ट्रेलियाको पुननिर्माण टास्क फोर्सका संयोजक गणेश केसी बताउँछन् । न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदुत दिपक खड्का अष्ट्रेलियाको सिनेटरसहितको टोलीको यो भ्रमणले पक्कै पनि भूकम्प पछिको पुननिर्माणमा अष्ट्रेलियाले गर्ने सहयोगलाई बढोत्तरी गर्ने र दुई देशबीचको सम्बन्धमा पनि थप बल पुग्ने बताउनुहुन्छ । एनआरएनले संयोजन गरेको लाप्राकको भ्रमण टोलीमा अष्ट्रेलियन लेबर सिनेटर शाम डेष्टियारीसहित तीन प्रतिनिधि, एनआरएनका अध्यक्ष शेष घले, न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्का, एनआरएन अष्ट्रेलियाको पुननिर्माण टास्क फोर्सका गणेश केसी, एमएनटीभीका प्रमुख समाचार सम्पादक चिरञ्जीवी देवकेटा, प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसी थिए ।