उत्तरी म्यानमारको जातीय हिंसा रोक्न सेना परिचालन
म्यानमारको उत्तरी क्षेत्रमा जारी रहेको जातीय द्वन्द्वबाट उत्पन्न हिंसाको अन्त्यका लागि म्यानमारको सैनिकले काम थालेको समाचार छ । सो क्षेत्रमा बारम्बार हिंसा भड्किने र यसको अन्त्यका लागि गरिएका पहलहरू पनि सफल हुन नसकेपछि हजारौँ व्यक्ति विस्थापित भएका छन् ।
पछिल्लो समयमा पनि कैयौँ महिना यतादेखि उत्तरी म्यानमारका दुई जिल्ला नामसाम र क्याकुममा जातीय हिंसा भड्किएको छ । सो हिंसामा परी सयौँको ज्यान पनि गएको प्रहरीले जनाएको छ । उक्त क्षेत्रको द्वन्द्व नियन्त्रणका लागि म्यानमारको प्रहरी सफल हुन नसकेपछि सेनाले सो हिंसा नियन्त्रणका लागि आफ्नो सहभागिता रहने भन्दै सेनाले दुई हप्ताअघि नै हस्तक्षेप गरेको हो । म्यानमारको सेनाले ती क्षेत्रमा हस्तक्षेप गरी कारबाही प्रक्रिया नै अघि बढाएको सेनाले प्रेस विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको हो । पछिल्ला केही महिनायता सुरु भएको यो नयाँ हिंसाका कारण तीन हजार ६०० जना गाउँले विस्थापित भएका छन् । त्यस हिंसाका कारण उक्त गाउँका सयौँ नागरिक मारिएका छन् । ती क्षेत्रमा म्यानमारको सैनिकले प्रहरीसँगको सहकार्यमा संयुक्त सैनिक कारबाही थाल्ने भएको हो । यसअघि सरकारले त्यहाँको हिंसा अन्त्यका लागि निकै नै प्रयास गरेको जनाएको थियो । म्यानमारमा आएको नयाँ संसदपछि गत फेब्रुअरी १६ मा बसेको नयाँ संसद्को पहिलो अधिवेशनले नै सबै पक्षलाई शान्तिपूर्णरूपमा समस्याको समाधान खोज्न आग्रह गरेको थियो । तर सो आग्रहपछि पनि त्यहाँका अल्पसङ्ख्यक र जातीय समूहले हिंसा रोकेका छैनन् । सो क्षेत्रबाट नागरिक विस्थापित हुने क्रम पनि रोकिएको छैन । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ्सान सुकीेको दलले गत नोभेम्बर महिनामा सम्पन्न भएको आमनिर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको भए पनि सरकार गठन भने भएको छैन ।