नेपालका भूकम्प पीडितलाई सहयोग जुटाउँदै एक अष्ट्रेलियन केटो भन्छ, मैले नगरे कसले गर्छ ?
नेपालमा गत वैशाख १२ गते महाविनाशकारी भूकम्प गयो । त्यसको तीन दिनअघि एउटा अष्ट्रेलियन केटो हिमालयका विभिन्न कुना कन्दरामा ट्रेकिंग गएर फर्किएको थियो । जब उसलाई उसका बाबुले नेपालमा गएको महाभूकम्पको बारेमा टेलिफोनमा भने त्यसबेला उसले पत्याउनै सकेन । केही दिन अघि मात्रै छोडेर आएका ति सुन्दर दृश्यहरु, ऐतिहासिक मठ मन्दिरहरु अब छैनन् । तिनीहरु ढलिसके । उनको नाम जेम्स टात्थाम हो । उनी सर्वोच्च शिखर सगरमाथाको काखसम्म पुगेर फर्किएका थिए त्यतिबेला । जब उनले यो विनाशकारी समाचार सुने त्यसबेलादेखि नै नेपालमा सहयोगका लागि के गरौं के गरौं भइरहेको थियो उनलाई । पछि एक साथीको सहयोगमा उनले सुरु गरे ‘ट्रेकिंग फर नेपाल’ अभियान । यस अभियान अन्तर्गत नेपालमा मृत्यु भएका ८ हजार ५ सय मानिसका नाममा ८५ हजार अमेरिकी डलर उठाउने योजना छ । अर्थात् प्रतिव्यक्ति १० डलर । उनको सुरुकै ट्रेकिंगबाट करिब तीन हजार डलर उनले संकलन गरे । यसपछि उनले २ सय ६८ किलोमिटर हिंडेर करिब ११ हजार उठाइसकेका छन् । यसपछि पनि उनले अभियान जारी राखे र गत मार्च १३ का दिन सिड्नीमा रहेको तोरंगा चिडियाखानाबाट प्रसिद्ध सिड्नी हार्बरसम्मको १० किलोमिटरको हिंडाईबाट १० हजार पनि जुटाइसकेका छन् । उनी भन्छन्, “नेपालको सुन्दरताले मलाई लोभ्यायो । त्यहाँका पहाड, हिमाल देखेर म अचम्मित भएँ । त्यहाँका मानिसहरुको मुहारमा मुस्कान बाहेक मैले अरु केही देखेको थिइनँ । त्यसले नै मलाई मोहनी लगायो ।” उनी थप अघि भन्छन्, “८५ हजार संकलन भएपछि पनि म पुननिर्माणका लागि के गर्न सकिन्छ त्यो गर्न चाहन्छु । सहयोगका लागि अघि बढिरहन चाहन्छु ।” यो अभियानमा उनका साथी ज्याक थोम्प्सनले पनि साथ दिएका छन् । उनी निष्कर्शमा भन्छन्, “अक्सर हामी अष्ट्रेलियनहरु के महत्वपूर्ण काम हो भन्ने बिर्सन्छौं । यसैले म बारम्बार सोच्ने गर्दछु, यदि मैले नगरे कसले गर्छ ?”
Watch Trekking Video Here :