अमेरिकी विदेशमन्त्री केरी ब्रसेल्समा, आतंकवादविरोधी एजेन्डा
ब्रसेल्स आक्रमणपछि यहाँको सरकार आफ्ना नागरिकलाई आवश्यक सुरक्षा व्यवस्था गर्न चुकेको भन्ने आलोचना विभिन्न कोणबाट आइरहेका बेला अमेरिकी विदेशमन्त्री जोन केरी आतङ्कवाद विरोधी वार्ता गर्न शुक्रबार ब्रसेल्स पुग्नुभएको छ ।
देशभित्र तथा बाहिरबाट बेल्जियम सरकार सुरक्षा संयन्त्र तथा यहाँको गुप्तचर एजेन्सी सम्भावित ब्रसेल्स आक्रमणको आँकलन गर्न असफल हुँदा ३१ जनाको ज्यान जाने गरी विस्फोट गराउन आतङ्कवादी सञ्जाल सफल भएको भनी सरकारको व्यापक आलोचना भएको छ । अमेरिकी विदेशमन्त्री जोन केरी ब्रसेल्स आक्रमणमा संलग्न भएको आशङ्कामा विभिन्न छ जनालाई पक्राउ गरिएपछि शुक्रबार बिहान ब्रसेल्स आइपुग्नुभएको छ । उनीहरूमाथिको छानबिन सम्भवत शुक्रबार नै सकिने र उनीहरूलाई थप हिरासतमा राख्ने वा रिहा गर्ने सम्बन्धमा टुङ्गो लगाइने न्यायाधिकारीहरूले बताएका छन् । ब्रसेल्सस्थित विमानस्थल सबैका लागि खुला गरिनुपूर्व नै विशेष विमानमार्फत त्यहाँ पुग्नुभएका अमेरिकी विदेशमन्त्री केरीले युरोपेली आयोग प्रमुख जाँ क्लाउड जुँकर, बेल्जियमका प्रधानमन्त्री चाल्र्स मिसेल तथा विदेशमन्त्री डिडिएर रेन्डर्स तथा बेल्जियन सम्राट फिलिप्पीसँग ब्रसेल्स घटना र यसपछिको वातावरणबारे छलफल गर्ने कार्यक्रम छ ।
ब्रसेल्सका नेताहरूले बेल्जियम आक्रमण र पेरिस आक्रमणबीच परस्पर तादात्म्यता रहेको बताउँदै आएका छन् । केरीको भ्रमणका क्रममा यी घटनाबारे छलफल गरिने र आगामी दिनमा आतङ्कवादी विरोधी अभियानलाई कसरी लैजाने भन्नेमा युरोपेली नेताहरू बेल्जियमका अधिकारीलगायतले छलफल गर्नेछन् ।
ब्रसेल्सका आक्रमणकारी पहिल्यै सूचीकृत
बेल्जियमको राजधानी ब्रसेल्समा हमला गर्नेहरू यसअघि नै अमेरिकाको आतङ्कवादीको सूचीमा सूचीकृत रहेको पाइएको छ । सो जानकारी अमेरिकी टेलिभिजन एनबिसीले बिहीबार सार्वजनिक गरेको हो । अमेरिकी अधिकारीहरूले बिहीबार यो रहस्य सार्वजनिक गरेका हुन् । यसै हप्ता बेल्जियमको राजधानीमा गरेको हमलामा संलग्न उनीहरू अमेरिकी अधिकारीहरूले तयार पार्ने गरेको आतङ्ककारीहरूको सूचीमा रहेको पाइएको समाचारमा जनाइएको छ ।
उक्त सूचीमा ती दुई भाइ इब्राहिम र खालिद एलबाक्राउ पनि रहेको र उनीहरू अमेरिकी सो सूचीमा सम्भावित आतङ्कवादीको खतराको सूचीमा रहेका पाइएको पनि बताइएको छ । अमेरिकी अधिकारीले निर्माण गर्ने आतङ्कवादीको सूचीमा उनीहरूको नाम रहेको मात्र बताइएको छ तर यस बारेमा विस्तृत विवरण भने केही दिइएको छैन । यस विषयमा लिन खोजिएको प्रतिक्रियाका लागि एएफपीको प्रश्नमा भने अमेरिकी प्रतिआतङ्कवाद केन्द्रले थप बताउन चाहेन । उक्त केन्द्रले आतङ्कवादीहरूको सूचना राख्ने गर्छ र उसले यस विषयमा अमेरिकी गुप्तचर निकायलाई पनि समन्वय गर्ने गर्दछ । यसअघि पनि बेल्जियमा अधिकारीहरूले नै ती दुई दाजुभाइ विभिन्न लुट तथा गोलीकाण्डमा पनि मुछिएका पाइएको बताएका थिए । उनीहरू विभिन्न मुद्दामा पनि दोषी पाइएका व्यक्ति हुन् । ती दुईजना मध्येको एक अल बकाराउले ब्रसेल्सको विमानस्थलमा आफैँमाथि बम विस्फोट गराएर आत्मघाती आक्रमण गरेका थिए ।
उनलाई सन् २०१५ मा नै टर्कीले आतङ्ककारीको सूचीमा राखेको थियो । सन् २०१५ को जुलाईमा उसलाई टर्कीले नेदरल्यान्डमा फिर्ता पठाएको थियो । खालिद अल बकराउ अर्का भाइ हुन् र उनले ब्रसेल्सकै मेट्रो स्टेसनमा आफैँमाथि बम हानेर विस्फोट गराएको बताइएको छ । यी दुवै भाइका बारेमा बेल्जियमले विशेष निगरानी राख्ने गरेको भए पनि सुरक्षा निकायलाई यस पटक उनीहरूले छलेको पाइएको अधिकारीहरूको भनाइ छ । बेल्जियमको राजधानी सहर ब्रसेल्सको विमानस्थल र भूमिगत मालबेक मेट्रो स्टेसनमा मङ्गलबार भएको आक्रमणपछि त्यहाँको सुरक्षा व्यवस्था भने निकै कडा पारिएको छ । ब्रसेल्स प्रहरीले आजसम्म कैयौँ व्यक्ति पक्राउ गरेको र अनुसन्धान सुरु गरेको जनाएको छ । त्यस आक्रमणमा अरू पनि व्यक्तिको संलग्नता रहेको बताइएको छ । उनीहरूको खोजी जारी रहेको छ । प्रहरीले संदिग्ध व्यक्तिको स्केच सार्वजनिक गरी राष्ट्रिय रूपमा खोजी अभियान चलाएको जनाएको छ । उक्त आक्रमणमा मारिने व्यक्तिको सङ्ख्या ३५ पुगेको जानकारी राष्ट्रिय प्रहरीले बुधबार बिहान जानकारी दिएका छन् । घाइतेको अवस्था पनि गम्भीर रहेको छ । यस आक्रमणमा परी घाइते हुने व्यक्तिको सङ्ख्या २६० जनाभन्दा बढी रहेको छ । अधिकांश घाइते गम्भीर अवस्थामा उपचार गराइरहेका छन् । चिकित्सकहरूले अझै पनि बेहोस अवस्थामा रहेका घाइते दर्जनौँ रहेका छन् ।