नमूना बालगृहका लागि च्यारिटी डिनरमै उठ्यो १८ हजार डलर
मोरंग समाज भिक्टोरिया र प्रवासी नेपाली मञ्च भिक्टोरियाको संयुक्त पहलमा मोरंगको उर्लाबारी ४ मा रहेको नमूना बालगृहको सहयोगका लागि मेलबर्नमा आयोजना गरिएको च्यारिटी डिनरबाट १८ हजार डलर सहयोग संकलन भएको छ । बालगृहमा रहेका बालबालिकाहरुको अवस्था, यसको सञ्चालन र अहिलेसम्म भएको उपलब्धी समेटिएको बृत्तचित्र प्रदर्शनबाट सुरु गरिएको च्यारिटी डिनरमा मोरंग समाज भिक्टोरियाका अध्यक्ष महेन्द्र कार्कीले स्वागत गर्नुभएको थियो भने एनआरएन आईसीसी सदस्य राजु अधिकारी, समाजका अगुवा बम योञ्जन लगायतले आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा योञ्जनले संस्थाको संरक्षकत्व ग्रहण गर्नुभएको थियो भने प्रवासी नेपाली मञ्चका संस्थापक अध्यक्ष डा. जगदिश तिम्सिनाले अनाथ र असहाय बालबालिकाहरुको शिक्षादिक्षा सहित भविष्यको बाटो कोर्ने काम वास्तवमै सराहनीय भएको बताउनुभयो । उहाँले यस कार्यमा प्रवासी नेपाली मञ्चले खेलेको भूमिका प्रशंसनीय भएको भन्दै विदेशमा रहेका नेपालीहरुले सहयोग गर्दै यस्ता सामाजिक संघ संस्थासँग हातेमालो गर्नुपर्ने पनि बताउनुभयो । उक्त अवसरमा नमूना बालगृहका सल्लाहकार डा. चन्द्रदिपक पोखरेलले बालगृहका विषयमा विस्तृत जानकारी गराउनुभएको थियो । उहाँले एक दिन दिने भन्दा पनि एउटा अक्षयकोष निर्माण गरेर दिगो रुपमा यसलाई सञ्चालन गर्ने प्रयासमा सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । च्यारिटी डिनर कार्यक्रम भनिएपनि उपस्थितहरु सिड्नीका चर्चित हाँस्य अभिनेता भुपेन्द्र चुडालको प्रस्तुतिमा पेट मिचिमिचि हाँस्न बाध्य भएका थिए । बालबालिकाको अधिकार सम्बन्धी गति समेत प्रस्तुत गर्नुभएका चुडालले पूरै कार्यक्रम अवधिभर विविध प्रस्तुतिले मनोरञ्जन दिनुभएको थियो । आफु ४२ जना बालबच्चाकी आमा मीनादेवी बरालको अभियानमा सहयोग गर्नकै लागि सिड्नीदेखि आएर सहभागी भएको चुडालको भनाई थियो । चुडालको प्रस्तुति हेर्नका लागि दर्शकहरु अन्त्यसम्म नै धैर्यतापूर्वक बसेका थिए । यसैगरी नृत्यंगना सुवासना श्रेष्ठले आफुनो प्रस्तुतिमार्फत उपस्थित दर्शकहरुको मन जित्न सफल भएकी थिइन् । नमूना बालगृहको तर्फबाट बोल्दै अध्यक्ष मीनादेवी बरालले सहयोगी हातहरुमा धन्यवाद ज्ञापन गर्नुभयो । च्यारिटी डिनर कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने नेप्लीज एशोसिएसन अफ भिक्टोरिया, एनआरएन भिक्टोरिया, मोरंग समाज, प्रवासी नेपाली मञ्च अष्ट्रेलिया सहित सबैमा उहाँले आभार व्यक्त गर्नुभयो । कार्यक्रममा न्याभका अध्यक्ष सुधिर शाक्य, एनआरएन भिक्टोरियाका अध्यक्ष केशव कँडेल लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थित थिए । च्यारिटी डिनरको आयोजना मेलबर्नको ४१९ हाईस्ट्रीट नर्थकोर्ट डाउन अन्डर करी रेष्टुरेन्टमा गरिएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दिक्पालदेव पंगेनीले गर्नुभएको थियो । यसैबीच, कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा प्रवासी नेपाली मञ्च भिक्टोरियाका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले उपस्थित सबैलाई धन्यवाद दिनुभएको छ । करिब सय जनाको सहभागिता रहेको च्यारिटी डिनर ओएनएफ भिक्टोरियाको पहिलो कार्यक्रम भएको भन्दै यसमा साथ दिने सबैमा न्यौपानेले आभार व्यक्त गनुृभएको हो । एमएनटीभीसँग कुरा गर्दै न्यौपानेले भन्नुभयो, “प्रवासी नेपाली मञ्च भिक्टोरिया यही समाजका लागि बनाइएको संस्था हो । हाम्रो आग्रहमा जुन सहभागिता भएको थियो यसले अझ धेरै उत्साही बनाएको छ । संकलित १८ हजार डलरले पक्कै पनि नमूना बालगृहको निम्ति उल्लेख्य काम हुन सक्छ भन्ने हाम्रो विश्वास छ ।”