विद्यार्थी कल्याणकारी कोष बनाउन ब्रिसबेन रिभरको किनारमा वाक फर वेलफेयर
अष्ट्रेलियाको ब्रिसबेनमा त्यतिधेरै नेपालीहरु छैनन् । तर, जति छन् समाजका लागि अग्रसर र क्रियाशिल नै छन् । एनआरएन अष्ट्रेलियाले १ लाख अष्ट्रेलियन डलरको विद्यार्थी कल्याणकारी कोषको निम्ति शनिबार भएको वाक फर वेलफेयर ब्रिसबेन संस्करणमा १ सय ५० भन्दा बढी सहभागी भएका छन् । हातमा नेपालको झण्डा बोकेर सहभागी बनेका स्थानीइ बुद्धिजीवी, व्यापारी, विद्यार्थीले समूदायका निम्ति यस किसिमको सक्रियता देखाएकोमा एनआरएनलाई धन्यवाद दिएका थिए । कार्यक्रममा एनआरएनका आईसीसी सदस्य ईश्वर कुईकेल, ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्साल, युवा संयोजक विजय पोखरेल, एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, कोषाध्यक्ष डिला खरेलसहित एनआरएन न्यूसाउथवेल्सका पदाधिकारी पनि ऐक्यबद्धताका लागि पुगेका थिए । यस्तै, एनआरएन वाक फर वेलफेयरका राष्ट्रिय संयोजक समिम अनवर, एनआरएनका उपसचिव भिष्म भण्डारी, एनआरएन क्वीन्सल्याण्डका पूर्वसंयोजक स्वतन्त्रप्रताप शाह लगायतले पनि पदयात्रामा आफ्नो उपस्थिति जनाएका थिए । स्थानीय न्यू फार्म पार्कबाट सुरु भएको पदयात्रामा हौसला बढाउन एनआरएन प्रवक्ता रञ्जु वाग्ले समेत पुगेकी थिइन् । करिब ६ किलोमिटर लामो पदयात्रा सकाएपछि आयोजना गरिएको संक्षिप्त कार्यक्रममा बोल्दै एनआरएनका पदाधिकारीहरुले ब्रिसबेनमा सफलतापूर्वक वाक फर वेलफेयर सञ्चालन गरेकोमा एनआरएन क्वीन्सल्याण्डलाई बधाई दिएका थिए । एनआरएनले विद्यार्थीका लागि केही गरेन भन्ने आरोप लाग्ने गरेकोमा विद्यार्थी कल्याणकारी कोषले उनीहरुको हितमा काम गर्ने उनीहरुको भनाई थियो । यसैबीच, वाक फर वेलफेयर सफलतापूर्वक ब्रिसबेनमा सम्पन्न भएको अवसरमा एनआरएन क्वीन्सल्याण्डका संयोजक अभिमानसिंह बस्नेत र सचिव सन्तोष कुँवरले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।