पाँचथरका व्यवसायी रेग्मीका हत्याराका मुख्य योजनाकार पक्राउ


यही चैत १ गते पाँचथरको रवि बजारका व्यवसायी दिनेश रेग्मीको हत्यामा संलग्न मुख्य योजनाकारलाई पक्राउ गरी आज प्रहरीले सार्वजनिक गरेको छ । झापालखनपुर–१ स्थायी घर भई विगत दुई वर्षदेखि रवि बजारमा सुनचाँदी ज्वेलरी सञ्चालन गरेर बस्ने भीम घिमिरे घतानी भनिने मीनबहादुर विश्वकर्मालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । उनलाई गत शुक्रबार नेपाल प्रहरी अपराध अनुसन्धान महाशाखा काठमाडौँको सहयोगमा राजधानीबाट पक्राउ गरी शनिबार बेलुका फिदिम ल्याइएको प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
घटनामा अर्को एक व्यक्ति पनि संलग्न रहेकाले उनको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । handरवि बजारमा रिचार्ज कार्ड र चुरोटको थोक विक्रेता गर्ने रेग्मी चैत १ देखि डिसहोम बनाउन छिमेकी गाविस सराङडाँडा जाने भन्दै बेपत्ता भएका थिए । बेपत्ता भएको तीन दिनपछि उनको शव इलाम फुयातप्पा–५ मा बिहान–९ बजेतिर प्रहरी र स्थानीयले चन्द्रप्रसाद खनालको बारीमा फेला पारेका थिए । रेग्मीलाई विकले सुनचाँदी धरौटीमा राख्न दिने गर्दथे । विकले ग्राहकको अहिलेसम्ममा झन्डै रु ३५ लाख बराबरको सुनचाँदी रेग्मीकामा धरौटी राखेको र उक्त रकम तिर्न नसक्ने भएपछि एक जना सहयोगीको भरमा रेग्मीलाई हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रनाउ कोइरालाले बताउनुभयो । घटनामा संलग्न सहयोगी भने अहिले फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?