नामिवियाविरुद्ध खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नामिबियाविरुद्ध खेल्ने १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
क्यानले कप्तान पारस खड्काको नेतृत्वमा घोषणा गरेको नयाँ टोलीमा तीन जना नयाँ अनुहारलाई स्थान दिइएको छ । बंगलादेशमा भएको अन्डर–१९ विश्वकप क्रिकेट–२०१६ मा उत्कृष्ट प्रदर्शन गरेका सन्दिप लामिछाने, अन्डर–१९ टोलीका कप्तान राजु रिजाल र अन्डर–१९ बाट खेलिसकेका सुसान भारीलाई राष्ट्रिय टोलीमा स्थान दिइएको हो ।
राष्ट्रिय टोलीका ओपनर अनिल मण्डल वैकल्पिक खेलाडीमा परेका छन् । १४ सदस्यीय नेपाली टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सागर पुन, शरद भेषवाकर, नरेश बुढाऐर, विनोद भण्डारी, बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, करण केसी, राजेश पुलामी, सन्दिप लामिछाने, राजु रिजाल र सुसान भारी छन् ।
विक्रम सोव, दिपेन्द्रसिंह ऐरी, प्रेम तामाङ र अनिल मण्डल वैकल्पिकमा परेका छन् ।
विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपालले आगामी वैशाख ४ र ६ गते कीर्तिपुरस्थित मैदानमा हुने खेलमा नामिबियासँग खेल्ने छ ।