दाङका बस व्यवसायी विष्णु महराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले बिहीबार पत्रकार सम्मेलन गरी महराको हत्यामा संलग्न रहेको आरोपमा सौडियार गाविस–३ का हिमाल भन्ने खिमबहादुर डाँगीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले डाँगीले प्रयोग गरेको बा. ९ च २९३ नम्बरको गाडिसमेत नियन्त्रणमा लिएको छ । डाँगी मालिका–कालिका बस व्यवसायी समिति घोराहीका बुकिङ काउन्टर इन्चार्ज हुन् । उनले महरासँग लिएको १५ लाख रुपैयाँ तिर्नुपर्ने भएपछि हत्या गरेको अनुसन्धानमा देखिएको दाङका निमित्त प्रहरी प्रमुख प्रकाश शर्माले जानकारी दिनुभयो ।
रोल्पाको जेलवाङ गाविस–१ घर भई घोराही नगरपालिका–६ रझेनामा बस्ने ३८ वर्षीय विष्णुबहादुर महराको शव चैत १६ गते चौघेरा नजिकै डबरी भन्ने स्थानमा फेला परेको थियो ।
प्रहरीले डाँगीमाथि कर्तव्य जानसम्बन्धी मुद्दा चलाएको छ ।