फिजीको संकटमा सहयोग गर्न सापकोटाको आग्रह
समुद्री आँधीका कारण व्यापक जनधनको क्षति भएको अवस्था फिजीका स्थानीय बासिन्दाका लागि सहयोग गर्न अष्ट्रेलियामा रहेका नेपाली समूदायमा अपिल गरिएको छ । फिजी र नेपालबीच सांस्कृतिक दूतको भूमिकामा रहनुभएका सञ्चारकर्मी भीमसेन सापकोटाले एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देललाई एक पत्र लेख्दै यस्तो आग्रह गर्नुभएको हो । विज्ञप्तिमा फिजीमा १२ हजारभन्दा बढीको संख्यामा नेपाली रहेको भन्दै त्यहाँ आइपरेको प्राकृतिक विपत्तिले भिती, लेभु टापुको पश्चिमी ईलाका, रेकी रेकी, नन्दी र लोटोका लगायतका क्षेत्रमा क्षति पुगेको लेखिएको छ । हजारौंको आवास पूर्ण रुपमा क्षति भएको, उपचारको अभाव रहेको परिस्थितिमा नेपाली फिजियनहरुको सहयोगका लागि उदार मन देखाउने विनम्र आग्रह गर्दै सापकोटाले फिजी सरकारको उद्धार कोषमा सहयोग जम्मा गर्न सकिने जानकारी दिनुभएको छ ।