ब्रसेल्समा भएको हमलाका लागि जिम्मेवार भनिएका एक जना संदिग्धको भिडियो सार्वजनिक


brussels

बेल्जियमका अभियोजनकर्ताहरुले गत महिना ब्रसेल्सको विमानस्थलमा भएको हमलाका लागि जिम्मेवार एक जना जिवित संदिग्ध व्यक्तिको भिडियो सार्वजनिक गरेका छन् ।

अभियोजनकर्ताहरुले भिडियोमा देखिएका व्यक्तिका बारेमा जानकारी दिन सर्वसाधारणलाई आह्वान गरेका छन् । अधिकारीहरुले ती संदिग्ध व्यक्तिको फोटो वा भिडियो कसैसँग भए त्यो सहित लिएर सरकारी सम्पर्कमा आउन सर्वसाधारणलाई आह्वान गरेका हुन् ।

अधिकारीहरुले सार्वजनिक गरेको नयाँ भिडियोमा विमानस्थलमा हमला गरेको भनी आशंका गरिएका ती व्यक्तिलाई उनले विमानस्थलदेखि सहरको केन्द्रसम्म यात्रा गर्ने क्रममा पार गरेका विभिन्न स्थानमा देखाइएको छ । ब्रसेल्स हमलापछि स्थानीय समयअनुसार बिहानको ९ बजेर ५० मिनेट जाँदासम्म तीन संदिग्ध व्यक्तिको गतिविधि सिसिटीभी क्यामरा फुटेजमा रेकर्ड भएको छ । त्यसमा उनले टोपी र हल्का रंगको ज्याक लगाएको देख्न सकिन्छ । अधिकारीहरुका अनुसार ती व्यक्तिले पछि आफ्नो ज्याकेट फुकालेर फ्यालेका थिए । त्यो कसैले फेला पारेको भए आफूहरुलाई जानकारी दिन पनि तिनीहरुले आग्रह गरेका छन् ।

गत मार्च २२ तारिखमा आफूलाई इस्लामिक स्टेट भन्ने समूहले ब्रसेल्सको विमानस्थल र मेट्रो रेल सेवामा गरेको हमलामा ३२ जनाको मृत्यु भएको थियो । विमानस्थलमा तीन जनाले हमला गरेको ठानिएको छ । जसमध्ये दुई जना बम हमलाका क्रममा मारिएका थिए ।

यसैबीच पेरिस हमलाका एक मात्र जिवित संदिग्ध हमलाकारीहरुका वकिले उनलाई फ्रान्स समक्ष सुपुर्दगी गर्ने प्रक्रिया अझै केही हप्ता लाग्न सक्ने बताएका छन् ।

चार महिनाको खोजी कार्यपछि गत मार्चमा ती हमलाकारी सलाह अब्देसलामलाई ब्रसेल्समा पक्राउ गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?