पोखरा कप फुटबलमा सशस्त्रको विजयी शुरुआत
मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगितामा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबले विजयी शुरुवात गरेको छ ।
पोखरामा मंगलबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सिमरा–११ लाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै एपीएफले विजयी शुरुवात गरेको हो । एपीएफको जितमा रञ्जन विष्टले ह्याट्रिक गरे ।
रञ्जनले खेलको ३, १७ र ४८ औं मिनेटमा गोल गरेका हुन् । अर्को एक गोल भने नविन लामाले ४३ औं मिनेटमा गरे । मंगलबारको खेलमा ह्याट्रिककर्ता रञ्जन विष्ट म्यान अफ दी म्याच भए ।
प्रतियोगितामा १२ टिमले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा भारतको दिल्ली युनाईटेडसँगै मनाङ मस्र्याङ्दी, थ्रीस्टार, सरस्वती, नेपाल पुलिस, नेपाल आर्मी र एपीएफ, झापा ११, रुपन्देही ११, धरान फुटबल, सिमरा ११ र आयोजक पोखरा ११ ले सहभागिता जनाउने कास्की जिल्ला फुटवल संघले जनाएको छ ।
प्रतियोगिताअन्तर्गत बुधबार झापा–११ बिरुद्ध रुपन्देही ११ भिड्नेछ । प्रतियोगिताको विजेतालाई ट्रफीसहित ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेतालाई ट्रफीसहित २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट एक जना खेलाडीलाई एक थान मोटरसाइकल दिइनेछ । त्यस्तै उत्कृष्ट स्ट्राईकर, फर्वार्ड, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई पनि जनही नगद १५ हजारसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।