नेपाल र नामिबिया भिड्दै, नेपाल दोस्रो जितको खोजीमा
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले नामिबियासँग सोमबार दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा पाँच विकेटको जित निकालेको नेपाली टोली उच्च मनोबलका साथ कीर्तिपुरमा रहेको त्रिवि मैदानमा उत्रँदै छ ।
खेल नेपाली समयअनुसार बिहान साढे ९ बजेपछि सुरु हुनेछ । प्रतियोगिताअन्तर्गत तेस्रो चरणको नामिबियासँगको पहिलो खेलमा नेपालले शनिबार उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेटको जित निकालेको थियो । जितसँगै सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप क्रिकेट छनौटमा सहभागिता जनाउने नेपालको सम्भावना कायम छ ।
सोमाबारको खेलमा नामिबियालाई पराजित गर्न सकेमा नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना बलियो हुनेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सहभागी विभिन्न आठ टोलीमध्ये शीर्ष चारमा रहने टोलीले सन् २०१८ मा हुने विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्ने मौका पाउनेछन् ।
यसअघिका चारै खेलमा नेपाल पराजित भएको थियो । पहिलो चरणका दुवै खेलमा स्कटल्यान्ड र दोस्रो चरणमा पपुवा न्युगिनीसँग नेपाल हारेको थियो । नेपालले शनिबारको जितसँगै प्रतियोगितामा दुई अंक जोडेको छ । त्यस्तै नामिबियाको पनि एक जितका साथ समान दुई अंक नै छ ।