ब्राजिलका राष्ट्रपति डिल्मा रुसेफविरुद्ध महाभियोग लगाउने प्रक्रिया थाल्न तल्लो सदनको अनुमति
ब्राजिलको तल्लो सदनले राष्ट्रपति डिल्मा रुसेफविरुद्ध महाअभियोग लगाउने प्रक्रिया थाल्न अनुमति दिएको छ । रुसेफविरुद्ध बहुमत अर्थात् दुई तिहाई सदस्यले महाभियोगका पक्षमा मतदान गरेका हुन् ।
५१३ सदस्यीय संसदमा ३६७ जनाले महाभियोगका पक्षमा मत दिएका छन् । विपक्षमा १६७ मत मात्र परेको छ भने नौ जना सदस्य अनुपस्थित रहेका छन् । महाभियोग लगाउने निर्णय गर्न चाहिने दुई तिहाई मत अर्थात् ३४२ भोटभन्दा बढी विपक्षमा परेपछि रुसेफको राजनीतिक भविष्य खतरामा परेको हो ।
यद्यपी, यसबारे माथिल्लो सदन सीनेटले निर्णय लिन बाँकी रहेको छ । तल्लो सदनले झै सीनेटले पनि दोषी भएको ठहर गरे रुसेफले पद गुमाउनु पर्नेछ । राजनीतिक स्वार्थ पूरा गर्न सरकारी ढुकुटीको दुरुपयोग गरेको भन्ने आरोपमा रुसेफविरुद्ध महाअभियोग लगाउन लागिएको हो ।
रुसेफले भने आरोपको खण्डन गर्दै आउनु विपक्षीले आफूविरुद्ध कू गर्न खोजेको आरोप लगाउँदै आउनुभएको छ । रुसेफलाई कार्वाही गर्ने पक्षमा तल्लो सदनले निर्णय गरेकामा संसद भवनबाहिर दशौं हजार विपक्षी कार्यकर्ताले खुशीयालीमा प्रदर्शन गरेका छन् ।