सम्झना मगरका लागि मेलबर्नमा केटो खोज्दै पशुपति शर्मा, सैयौंले लिए लाईभ दोहोरीको मज्जा


dohori खचाखच दर्शकहरुको उपस्थितिबीच पशुपति शर्मा र सम्झना लामिछानेको लाईभ दोहोरी कार्यक्रम सम्पन्न भएको छ । चितवन समाज र एनआरएन मेलबर्नले आयोजना गरेको लाईभ दोहोरी कार्यक्रम नयाँ वर्षको अवसरमा गरिएको थियो । मेलबर्नको ब्रन्सवीकस्थित ईस्टोनिया हाउसमा आयोजित कार्यक्रमको उपस्थित दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । लोकदोहोरी गायक पशुपति शर्मा स्टेजमा आउँदा धेरैजसो दर्शक आफ्नो कुर्सी छोडेर नाच्न तम्सिएको देखिन्थे भने दर्शकहरुको भीडमा नेपालबाट आएका अभिभावकहरुको संख्या पनि उल्लेख्य थियो । यसैगरी सम्झना लामिछाने मगरको प्रस्तुतिले पनि धेरैलाई उत्साही तुल्याएको थियो । पशुपति शर्मा र सम्झना मगरको दोहोरीमा मुख्यतः शर्मा सम्झनाका लागि उपयुक्त केटोको खोजीमा देखिन्थे । उनले दर्शकमध्येबाटै युवाहरुलाई स्टेजमा बोलाएर व्यंग्यात्मक तवरमा जोडी बाँधिदिने प्रयत्न पनि गरे । सम्झना पनि के कम, हरेक केटामा कुनै न कुनै खोट निकाल्दै बिहे नै गर्ने मुड समाप्त भएको जनाउ दिइन् । यस्तै यस्तै छेडखाजीकाबीच करिब एक घण्टा उनीहरुको लाईभ दोहोरी चलेको थियो । मुख्यतः युवाहरु अघिल्लो पंक्तिमा बसेर सम्झना र पशुपतिको छेडछाडको मज्जा लिँदै नाचिरहेका भेटिन्थे । मेलबर्नमा दोश्रो पटक आएको बताउँदै नेपाली गीत संगीतलाई माया गर्न आग्रह गरेका शर्माले व्यंग्यात्मक पारामा सम्झनासँग छेडखानी गरेका थिए । यस्तै कार्यक्रममा नै स्थानीय विराज थापाले सम्झनासँग दोहोरी गीत गाएका थिए । यसलाई पनि दर्शकले रमाइलो नै मानेर हेरे । तर, पशुपति शर्माको डिमाण्ड निरन्तर भइरह्यो । तर, अलि सञ्चो भएन भनिरहेका गायक शर्माले दर्शकलाई निरास बन्न नदिई आफ्नो कला देखाए । मलाई अमेरिका यही, मलाई बेलायत नी एही भन्ने गीतबाट चर्चित बनेका शर्माको सबै उमेर समूहका दर्शकश्रोता छन् । कार्यक्रममा स्थानीय कलाकारहरु यमुना गैरे, मञ्जु ढकाल, तारा गैरे र विराज थापाले पनि दर्शकहरुलाई लोकदोहोरीप्रतिको आकर्षण बढाउन मद्दत गरेका थिए । कार्यक्रम आयोजना गर्नका लागि सहयोग गर्ने प्रायोजकहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । उनीहरुलाई चितवन समाज भिक्टोरियाका अध्यक्ष सोमप्रसाद गुरुंग र एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेलसहित पशुपति शर्मा र सम्झना लामिछानेले प्रमाणपत्र दिएका थिए । यसैगरी बाद्यवादनतर्फ सहयोग गर्ने र नृत्यमार्फत अफ्नो कला देखाउने स्थानीय प्रतिभाहरुलाई पनि प्रमाणपत्र दिइएको थियो । Pashupati Sharma७ सयभन्दा बढी दर्शकहरुको सहभागिता र उनीहरु सन्तुष्ट भएर फर्किएको देख्दा आफुहरुलाई निकै खुशी लागेको र कार्यक्रम सम्पूर्ण रुपमा सफल बनेको आयोजक संस्था चितवन समाज भिक्टोरियाका अध्यक्ष गुरुंग र एनआरएनका कँडेलले प्रतिक्रिया दिनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?