अष्ट्रेलियाका लागि नेपाली राजदूतमा लक्की शेर्पा सिफारिश, चीनमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे राजदूत
सरकारले रिक्त रहेका २१ देशमा राजदूत सिफारिश गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अष्ट्रेलियाका लागि लक्की शेर्पालाई नियुक्त गर्ने निर्णय गरेको हो । शेर्पा माओवादीको तर्फबाट संविधानसभा सदस्यका रुपमा रहेकी थिइन् । यसैगरी मन्त्रिपरिषद्को बैठकले पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहाुदर पाण्डेलाई चीनका लागि राजदूतमा सिफारिश गरेको छ । चीन सम्बन्धलाई उच्च महत्व दिँदै आगामी दिनमा सहकार्यका नयाँ सम्भावनाहरुलाई सहज रुपमा कार्यान्वयन तहमा लैजानका लागि पाण्डेको सिफारिश गरिएको एक मन्त्रीले जानकारी दिएका छन् । मन्त्रिपरिषद्ले रसियाका लागि पूर्वमन्त्री निरञ्जन थापा, बेलायतका लागि दुर्गाबहादुर क्षेत्री सुवेदी, जर्मनका लागि रमेश खनाल, ईजिप्टका लागि झविन्द्र अर्याल, बेल्जियमका लागि लोकबहादुर थापा, पाकिस्तानका लागि सेवा अधिकारी र अष्ट्रियाका लागि प्रकाश सुवेदीलाई सिफारिश गरेको छ । यसैगरी दक्षिण कोरियाका लागि युवराज कार्की, श्रीलंकाका लागि नारद भारतद्वाज, कतारका लागि डा. महेन्द्रबहादुर सिंह, डेनमार्कका लागि युगनाथ लम्साल, जापानका लागि खड्क केसी, बंगलादेशका लागि खगेन्द्र बस्नेत, युएईका लागि भरतबहादुर रायमाझी र म्यानमारका लागि ऋषिराम अधिकारी तथा ब्राजिलका लागि ताराप्रसाद उपाध्याय सिफारिशमा परेका छन् । यी सबै राजदूतको संसदीय सुनवाई भएपछि सम्बन्धित देशमा एग्रिमोका लागि नाम पठाइने भएको छ ।