आर्मी र सशस्त्र महिला फुटबलको सेमिफाइनलमा
राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलले लगातार जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित एन्फाको खेल मैदानमा बुधबार भएको खेलमा आर्मीले पश्चिमाञ्चल विकास क्षेत्रलाई ९–० तथा सशस्त्रले सुदूरपश्चिमाञ्चलमाथि १४–० को सहज जित निकाल्यो ।
आर्मीका लागि १४, १६, ३५, ७७ र ८० औँ मिनेटमा शर्मिला थापाले पाँच गोल गरिन् । त्यस्तै, दीपा अधिकारीले ११, ३१ र ८९ औँ मिनेटमा गरी तीन तथा सपना लामाले ७१औँ मिनेटमा गोल गर्दै आर्मीलाई फराकिलो जित दिलाए ।
त्यसैगरी, सशस्त्रका लागि सावित्रा भण्डारीले खेलको १०, ३१, ७७ र ७८ मिनेटमा चार गोल तथा समान स्कोर गरेकी सजना रानाले खेलको २५, ४१, ७६ र ८१ औँ मिनेटमा गोल गरेकी थिइन् ।
त्यस्तै, अनिता बस्नेतले १४, ३९ र ७५ औँ मिनेटमा तीन गोल, अनु लामाले २९ र ९० जोड १ मिनेटमा दुई गोल तथा मनु दोङले ८९औँ मिनेटमा एक गोल गरेपछि सुदूरपश्चिम निरीह बनेको थियो ।
प्रतियोगिताअन्तर्गत पहिलो खेलमा पनि दुवैले जित हात पारेका थिए । बुधबारको जितले समान छ अंकका साथ दुवैलाई सेमिफाइनलमा पु¥याएको छ । गोलअन्तरमा एक गोलले अघि रहेको सशस्त्र लिगको पहिलो स्थानमा छ । दुवै टोलीबीच शुक्रबार हुने खेलले समूह विजेता टुंगो लाग्नेछ ।