पाकिस्तानको ‘छोटु ग्यांग’ले हतियार बिसायो
पाकिस्तानमा विगत केही सातायता सेनासँग टक्कर लिइरहेको ‘छोटु ग्यांग’ नामक आपराधिक समूहले हतियार बिसाउँदै २४ प्रहरीलाई रिहा गरेको छ ।
पाकिस्तानी सेनाले रिहा गरिएका प्रहरीसँगै ग्यांगका केही सदस्यसमेत उपस्थित भएर हतियार बुझाएको जनाएको छ ।
अन्तिम कारबाहीको चेतावनी दिएपछि उनीहरुले पाक सेनासमक्ष हतियार बुझाएको बताइएको छ ।
तर, ग्यांगका नाइकेले नै हतियार बुझाएकोबारेमा भने स्पस्ट हुन सकेको छैन ।
दुई साताअघिमात्र सो समूहले पाकिस्तानमा सात प्रहरीको हत्या गर्नुका साथै २४ प्रहरीलाई अपहरण गरेको थियो ।
कब्जा गरिएका प्रहरीलाई सिन्ध नदी क्षेत्र आसपास राखेको पहिचान भएपछि सेनाले कारबाही थालेको थियो ।