महाविनाशकारी भूकम्पमा ज्यान गुमाएकाहरुको स्मरणमा पर्थमा श्रद्धाञ्जली कार्यक्रम गरिँदै
– कमल सिलवाल, पर्थ
गत बर्ष नेपालमा करिब ९ हजारको ज्यान जानेगरी गएको विनाशकारी भुकम्पमा दिवंगत भएकाहरुको सम्झनामा यस वर्ष अप्रिल २५ तारिखमा नै अष्ट्रेलियामा मैनबत्ति बालेर श्रद्धाञ्जली दिइने भएको छ । उक्त दिन पश्चिम अष्ट्रेलियाको पर्थमा दिप प्रज्वलन कार्यक्रम राखिएको हो । पर्थको च्यारीटी सस्था वी केयर नेपाल इन्कको अग्रसरतामा सोमबार साँझ दिप प्रज्वलन कार्यक्रम बर्जउड स्थित गो एडवार्ड पार्कमा गरिनेछ ।
नेपालमा विनाशकारी भूकम्प गएपछि राहतमा योगदान दिने उद्देश्यले स्थापना गरिएको वी केयर नेपाल इन्कले आफ्नो पहिलो वार्षिक कार्यक्रमका रुपमा भुकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा कार्यक्रम गर्न लागेको सस्थाका सदस्य उज्ज्वल केसीले बताउनुभयो ।
केसीका अनुसार उक्त कायृक्रममा मृतकहरुको सम्झनामा मौन धारण गर्ने र आत्माको शान्तीको कामना गर्दै दिप प्रज्वलन गरिनेछ । समुदायका प्रतिनिधिहरुको मन्त्यबका साथ नेपाललाई सम्झने खालका केही प्रस्तुतीहरु पनि समावेश गर्ने योजना छ । संस्थाका अर्का सदस्य मनोज ढुंगानाले गत एक वर्षमा नेपालमा भूकम्प पीडितको सहयोगका लागि गरिएका कार्यहरुको विवरण पनि सार्वजनिक गरिने भएको छ । नेपालमा गतवर्षको महाविनाशकारी भूकम्पको बेला एनआरएनले गरेको सहयोग संकलनमा अष्ट्रेलियाबाट सबैभन्दा बढी सहयोग रकम जुटेको थियो । यस्तै उद्धार र राहतका लागि चिकित्सकसहितको पहिलो टोली पनि अष्ट्रेलियाबाट नै गएको थियो ।