१ सय ६० जनालाई ठगी गर्ने दुई व्यक्ति पक्राउ


Thagiकरिब १६० जना सर्वसाधारणबाट ठगी गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी बिहीबार सप्तरीमा सार्वजनिक गरेको छ ।

गोप्य सूचनाका आधारमा सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कञ्चनरुप नगरपालिका–३ स्थित भडाहा गाउँको मुसहर बस्तीमा कुबेत देशको सहयोगमा मुस्लिम सुकुम्बासी आयोग केन्द्र काठमाडौँमार्फत घर बनाइदिने भन्दै सर्वसाधारणसँग रकम उठाइरहेको अवस्थामा प्रहरीले रंगेहात दुईजनालाई पक्राउ गरेको प्रहरी निरीक्षक गौरव महतले बताए ।

पक्राउ पर्नेमा सप्तरीको वकधुवा गाविस–७ का ४१ वर्षीय मो. मन्जुर आलम र सोही ठाउँका ३६ वर्षीय मो. याकुव मियाँ रहेका छन् ।

उनीहरुबाट पासपोर्ट साइजको दुईरदुई थान फोटो र घर बनाउने दुईवटा घरको चित्रसहित सादा पानामा भरिदिएको फाराम तथा ठगी गरेको रु २७ हजार बरामद गरिएको प्रहरी निरीक्षक महतले जानकारी दिए।

दुवैजनाले कञ्चनरुप नगरपालिका–३ भडाहा गाउँका ६३ वर्षीय दुखनी देवी सदासहित १६० जनासँग विभिन्न शीर्षकमा करिब रु दुई लाख ५० हजारभन्दा बढी ठगी गरेको बताइन्छ।

पक्राउ परेका दुवैजनाविरुद्ध ठगी मुद्दा चलाइएको प्रहरीले बताएको छ ।

यसैबीच लुटपाटलगायतका अभियोगमा विगत १८ वर्षदेखि फरार रहेका प्रसवनी गाविस–५ का ४५ वर्षीय इन्द्र सदा मुसहरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

सदालाई २०५५ भदौ २३ गते जिल्ला अदालत राजविराजले लुटपाटलगायतका अभियोगमा एक महिना कैद र रु एक हजार जरिवाना गरेको थियो । रासस

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?