मेलबर्नमा यसरी गरियो स्मरण वैशाख १२ को
वैशाख १२ । २०७२ साल वैशाख १२ गते नेपाल र नेपालीको लागि एउटा अँध्यारो दिन बनेर आएको थियो । शनिबारको दिन सबैजना बिदामा रमाइरहेका बेला मध्यान्हपछि अचानक आएको विनाशकारी भूकम्पले ९ हजारभन्दा बढीको ज्यान लियो भने २२ हजारभन्दा बढी घाइते भए । यसले गरेको भौतिक क्षतिको विवरण त अझै पनि पूर्ण रुपमा आइसकेको छैन यद्यपि ३ लाखभन्दा बढी घरहरु भत्किए । ५ लाख जतिमा क्षति पुग्यो । हो, यही दिन अष्ट्रेलियाको मेलबर्नमा रहेको भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूतको कार्यालयमा नेकपा एमालेका नेता प्रदिप ज्ञवालीसहितको उपस्थितिमा कार्यक्रम भइरहेको थियो । त्यहाँ उपस्थितहरुले जब नेपालको त्रासदीपूर्ण घटनाको विवरण त्यही सामूहिक रुपमै पाए तब कार्यक्रम बीचमै स्थगित गरियो र सबैजना नेपालमा आफन्तहरुसँग सम्पर्क गर्न लागे । ठीक एकवर्षपछि फेरि त्यही कार्यालयमा नेपाली समूदायका अगुवाहरु जम्मा भए र विनाशकारी भूकम्पमा ज्यान गुमाएकाहरुको स्मरणमा स्मृतिसभा सम्पन्न गरे । उक्त स्मृतिसभामा बौद्ध परम्परा अनुसार शान्तिको कामना समेत गरिएको थियो । भिक्टोरियास्थित महावाणिज्यदूतको कार्यालय, एनआरएन भिक्टोरिया, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाको संयुक्त पहलमा भएको कार्यक्रममा बोल्दै भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले एक वर्षअघिको समयको स्मरण गर्नुभयो । र, त्यसैगरी उही ठाउँमा भेला भएर दिप प्रज्वलन गर्दै शान्ति कामना गर्नुको महत्व रहेको बताउनुभयो । उहाँले अझै पनि नेपालमा सतर्क भएर निर्माणको कामलाई दिगो रुपमा अघि बढाउनु आवश्यक रहेको उहाँको भनाई थियो । प्राकृतिक विपत्ति जतिबेला पनि आउनसक्ने भन्दै उहाँले त्यसको बलियो पूर्वतयारी नै सबैभन्दा महत्वपूर्ण रहेको पनि बताउनुभयो । कार्यक्रममा एनआरएन आईसीसी सदस्य ऋषि कँडेलले नेपालमा भर्खरै सरकार र एनआरएनबीच लाप्राकमा नमूना वस्ती बसाउने विषयमा सम्झौता भएको जानकारी गराउँदै एनआरएन अष्ट्रेलिया, एनआरएन भिक्टोरिया र यहाँ रहेका नेपाली समूदायका साथै अष्ट्रेलियावासीहरुले समेत नेपालको भूकम्पको बेला गरेको सहयोगको सराहना गर्नुभयो । कार्यक्रममा एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेलले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने न्याभका अध्यक्ष डा. अनुपम पोखरेलले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । एक मिनेट मौन धारणबाट सुरु भएको उक्त कार्यक्रममा दिप प्रज्वलन गरी दिवंगतहरुको आत्माको शान्तिको कामना गरिएको थियो । कार्यक्रमको सञ्चालन माधव पौडेलले गर्नुभएको थियो ।
ग्लेनरोयमा पनि दिप प्रज्वलन
यसैबीच, मेलनर्बनको ग्लेनरोय ट्रेन स्टेशनमा पनि गतवर्ष नेपालमा गएको विनाशकारी भूकम्पमा ज्यान गुमाएकाहरुको स्मरणमा श्रद्धाञ्जली सभा गरिएको छ । यहाँ पनि अघिल्लो वर्ष भूकम्प लगत्तै ज्यान गुमाएकाहरुको स्मरणमा गरिएको शान्ति कामनालाई निरन्तरता दिँदै यस वर्ष पनि कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै नेप्लीज युथ एशोसिएसनका अध्यक्ष श्रीकृष्ण सिलवालले नेपालमा चन्दा दिने भन्दा पनि शिप सिकाउने र रोजगारीको अवसर सिर्जना गर्नेतर्फ ध्यान दिने बेला भएको बताएका थिए । यसैगरी नेपालबाट अष्ट्रेलिया आउनुभएका अभिभावकहरुले नेपालमा रहँदा भूकम्पको बेलाको अनुभव सुनाउनुभएको थियो । कार्यक्रमको सञ्चालन निरु त्रिपाठीले गरेकी थिइन् ।