फलामलाई सुन भन्दै ठग्ने चार जना पक्राउ


Thagi Giroha

फलामलाई सुन भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरी प्रहरी महाशाखा ललितपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा एक जना ट्याक्सी चालक र एक जना सुनचाँदी व्यवसायी छन् । भक्तपुर ठिमी–१७ घर भइ काठमाडौं मनोहरा कागेश्वरी बस्ने रत्न शाही, चितवन शिवनगर घर भइ काठमाडौं गोकर्णेश्वर बस्ने सुन व्यवसायी पूर्णबहादुर विक, ट्याक्सी चालक भक्त थापा र दोलखा घर भइ थानकोट बस्ने पासाङ तामाङ पक्राउ परेका हुन् ।

उनीहरुले फलामबाट बनेको वस्तुलाई सुनको आकार दिई भूईमा खसालेर बृद्धाहरु ठग्ने गरेको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक पिताम्बर अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुले अहिलेसम्म ५ जनालाई ठगी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । ललितपुर इमाडोल बस्ने ६६ वर्षीया गणेशमाया श्रेष्ठ,  ललितपुर प्रयागपोखरीकी ७० वर्षीया दानमाया शाही र एकान्तकुनाकी ७५ वर्षीया मैया खड्कालाई सडकमा फलामबाट बनेको वस्तु फालेर झुक्याइ उनीहरुले लगाएको सुन लिएर जाने गरेको अधिकारीले बताए ।

फलामलाई उनीहरुकै अगाडि एक जनाले झार्ने र अर्को आएर उनीहरुलाई सो वस्तु सुन रहेको भन्दै ढाँट्दै उनीहरुले लगाएको सुन चाहि लिएर, बाटोमा भेटिएको वस्तु दिएर जाने गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?