राष्ट्रिय महिला लिग फुटबलको उपाधि नेपाल पुलिस क्लबलाई
राष्ट्रिय महिला लिग फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सुपर लिगको अन्तिम खेलमा पूर्वाञ्चललाई २–१ ले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । खेलको छैठौं मिनेटमा निरु थापाले गोल गर्दै प्रारम्भिक अग्रता दिलाएकोमा ७० औं मिनेटमा हिना रानाले पूर्वाञ्चललाई बराबरीमा ल्याइन् । ८५ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै निरुले गोल गर्दै पुलिसलाई जिताइन् ।
यो जितसँगै विभागीय टिमहरु नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको समान ६–६ अंक भएकामा हेड टु हेडका आधारमा पुलिसले उपाधि जितेको हो । त्यस्तै आर्मी दोस्रो स्थानमा रहँदा सशस्त्र तेस्रो भयो ।
आठ टिमले सहभागिता जनाएको राष्ट्रिय लिगको उपाधि जितेसँगै पुलिसले दुई लाख रुपैयाँ प्राप्त गरेको छ भने आर्मीको भागमा एक लाख रुपैयाँ परेको छ ।
प्रतियोगितामा उत्कृष्ट गोलकिपर आर्मीकी लीला लाम्गाडे, डिफेन्डर पुलिसकी घीमकुमारी गुरुङ, मिडफिल्डर सशस्त्रकी अनिता बस्नेत, फरवार्ड सशस्त्रकै सावित्रा भण्डारी तथा प्रशिक्षक पुलिसका सन्देश श्रेष्ठ चुनिएका छन् ।