भिक्टोरियावासीको तर्फबाट पुननिर्माणका लागि ६ हजार डलरभन्दा बढी थप सहयोग
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीको तर्फबाट गत वर्ष वैशाख १२ मा गएको विनाशकारी भूकम्पका कारण भएको क्षतिको पुननिर्माणमा सघाउन थप ६ हजार ४ सय ३२ डलर सहयोग गरिएको छ । वैबाख १२ को वार्षिकीको अवसर पारेर नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका निवर्तमान अध्यक्ष सुधिर शाक्य र उपाध्यक्ष सुरेन्द्र सेढाईले उक्त परिमाणको चेक एनआरएन आईसीसी अध्यक्ष शेष घलेलाई हस्तान्तरण गर्नुभएको हो । एमएनटीभीसँग कुरा गर्दै निवर्तमान अध्यक्ष शाक्यले भन्नुभयो, यो रकम हामीले एउटा सांगीतिक कार्यक्रमको आयोजना गरेर संकलन गरेका थियौं । जसमा भिक्टोरियाका स्थानीय कलाकारहरुले योगदान दिनुभएको थियो । न्याभ र एनआरएन भिक्टोरियाको संयुक्त पहलमा भएको उक्त कार्यक्रमबाट खर्च कटाएर बाँकी सबै रकम हामीले भूकम्प पीडितको निम्ति एनआरएनले गर्न लागेको पुननिर्माणको कार्यमा थप सहयोगस्वरुप प्रदान गरेका हौं । चेक हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष घलेले भिक्टोरियन नेपाली समूदाय, कलाकारहरुको निरन्तरको सहयोगबाट थप हौसला मिलेको बताउनुभएको थियो । यसले नेपालमा पुननिर्माणमा अझ बढी दृढ भएर लाग्ने प्रेरणा आफुलाई प्राप्त भएको घलेले बताउनुभयो । उक्त हस्तान्तरणको अवसरमा एनआरएन आईसीसी सदस्य जमुना घलेसमेत उपस्थित रहनुभएको शाक्यले जानकारी दिनुभयो । एनआरएनले एक हजार घर बनाउने प्रतिबद्धता व्यक्त गरेको छ भने भर्खरै मात्र सरकारले भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाकभन्दा माथिल्लो लाप्राक गाउँमा नमूना घर बनाउनका निम्ति स्वीकृति प्रदान गरेको छ । यससम्बन्धी सहमतिपत्रमा हस्ताक्षर समेत भइसकेको छ ।