अफगानिस्तानमा डरलाग्दो दुर्घटना, ७३ जनाको मृत्यु
पूर्वी अफगानिस्तानको घाजनी राज्यमा आइतबार भएको सडक दुर्घटनामा कम्तिमा ७३ जनाको मृत्यु भएको छ ।
दुई बस र एउटा तेल ट्यांकर ठक्कर खाएपछि भएको दुर्घटनामा महिला, बालबालिकासहित ७३ जनाको ज्यान गएको हो । दुर्घटनामा दर्जनौं यात्रु घाइते भएको अफगानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता इस्माइल काबसीले बताएका छन् ।
बस तेलको ट्यांकरसँग ठोकिएपछि ट्यांकरबाट पोखिएको तेलमा आगलागी भएपछि मृतकमध्ये धेरैको शव आगोले जलेर चिह्न नसकिने अवस्थामा रहेका छन् भने दर्जनौं यात्रुलाई घाइते अवस्थामा उपचारका लागि घाजनी तथा कान्दाहार शहर पुर्याइएको छ ।
केही घाइते यात्रुको स्वास्थ्य अवस्था गम्भीर रहेकाले मृतक संख्या बढ्न सक्ने बताइएको छ ।
द्वन्द्वले विक्षिप्त अफगानिस्तानमा सडक दुर्घटनाका घटना सडकको कमजोर संरचनाका कारण सामान्य मानिन्छ । यद्यपी दुर्घटनामा यति ठूलो हताहती भने कमै हुने गरेको थियो ।
यसै वर्ष मे महिनामा अफगानिस्तानको पश्चिमी इलाका वादगिसमा भएको एक दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । त्यसैगरी बसले इन्धन बोकेको ट्यांकरलाई ठक्कर दिँदा सन् २०१३ मा कान्दाहार शहर नजिकै पनि ४५ जनाले ज्यान गुमाएका थिए ।
पटक पटकका दुर्घटनामा सयौं मानिसको ज्यान गएपछि विश्व बैंकले सन् २०१५ को नोभम्बरमा अफगानी सडक कमजोर संरचनालाई सुधार्नका लागि भनेर २५० करोड अनुदान रकम प्रदान गरेको थियो ।