भूकम्पको बेलामा खिचिएका तस्वीरहरुको प्रदर्शनी मेलबर्नमा सुरु
गतवर्ष नेपालमा गएको विनाशकारी भूकम्पको बेलामा खिचिएका तस्वीरहरुको प्रदर्शनी मेलबर्नमा सुरु भएको छ । भक्तपुर स्थायी घर भई हाल मेलबर्नमा बसोबास गर्दै आएका फोटोग्राफर अरुण चित्रकारले खिचेका यी तस्वीरहरु मेलबर्नको ब्लक आर्केडमा प्रदर्शनीका लागि राखिएका छन् । सात दिनसम्म चल्ने प्रदर्शनीको शुभारम्भ भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले गर्नुभएको थियो । उक्त अवसरमा महावाणिज्यदूत योञ्जनले यस प्रदर्शनीलाई अझ व्यवस्थित र ग्यालरीमै गर्नका लागि पहल गर्नुपर्ने बताउँदै यसका लागि आफुले सहयोग गर्ने बताउनुभयो । साथै, उहाँले नेपालमा भूकम्पको बेला भिक्टोरियावासीहरुले देखाएको सद्भाव र सहयोगका लागि सदैव आभारी रहने पनि धारणा व्यक्त गर्नुभयो । फोटोग्राफर चित्रकारले स्थान अभावका कारण आफुले तयारी गरेका एक सय फोटोमध्ये ३० वटा मात्रै प्रदर्शनीमा राखेको जानकारी दिए । एमएनटीभीसँग कुरा गर्दै उनले भने, “फोटो त धेरै खिचेको थिएँ । धेरै देखाउने ईच्छा पनि छ । तर, यो सार्वजनिक ठाउँ भएकोले यहाँ फोटो राख्दा पनि विशेष ध्यान दिनुपर्ने छ । च्यापिएको, मानिसहरु को जीवन नै क्षति भएका फोटोहरु राख्दा अलि बढी सावधानी अपनाउनुपर्ने पनि रहेछ । वास्तवमा यतिबेला यो प्रदर्शनी गर्नुको उद्देश्य मेलबर्नबासीले भूकम्पको बेला गरेको सहयोगको सम्मान पनि हो । र, एक वर्ष वितिसकेको छ यो विनाशको भन्ने कुराको स्मरण गराउनु पनि हो । जुन प्रतिक्रिया मैले दर्शकहरुबाट पाइसकेको छु यसबाट निकै उत्साही छु । नेपाल गइसकेका विदेशीहरुले चासो दिएर हेरेका थिए । उनीहरु अझै पनि कसरी सहयोग गर्न सकिन्छ भनेर मलाई सोधिरहेका छन् ।”